३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राजस्व चुहावट रोक्न कठोर बन्छौं – अर्थमन्त्री पौडेल

प्रकाशित मिति :  १२ चैत्र २०७७, बिहीबार ११:५६


काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व चुहावट नियन्त्रणका लागि सरकार कठोर बन्ने बताउनु भएको छ ।

बिहीबार मन्त्रालयमा आयोजित केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा बोल्दै अर्थमन्त्री पौडलले राजस्व चुहावट नियन्त्रणका लागि सबै शक्ति प्रयोग गर्ने बताउनुभयो ।
अनियमितामा संलग्न हुनेप्रति सरकार कठोर रुपमा प्रस्तुत हुने चेतावनी दिँदै उहाँले भन्नुभयो – ‘राजस्व चुहावटप्रति सहिष्णु हुन सक्दैनौं, शक्तिका साथ प्रस्तुत हुन्छाैं, व्यवसाय अभिवृद्धि र संरक्षणलाई पनि उत्तिकै ध्यान दिन्छौं ।’

अर्थमन्त्री पौडेलले निर्दोष नपर्ने र दोषीले उन्मुक्ति नपाउने गरी काम गर्न निर्देशन दिनुभयो । राजस्व परिचालनमा नकारात्मक असर नपरोस् भन्नेमा पनि सजकता अपनाउन विभागहरु र सुरक्षा निकायलाई उहाँले आग्रह गर्नुभयो । उहाँले चुहावट नियन्त्रणका लागि समन्वय गरी काम गर्न विभागहरु र सुरक्षा निकायहरुलाई निर्देशन दिनुभयो ।

स्थानीय र केन्द्रीय तहमा अनुगमन बढाइने बताउँदै अर्थमन्त्री पौडेलले समस्या समाधानलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिनुभयो । उहाँले प्रणालीमा रहेका कमजोरीहरुलाई सुधार गर्दै प्रविधिको प्रयोग र त्यसमा रहेका कमजोरीलाई हटाउँदै काम गर्नुपर्ने पनि बताउनुभयो ।

कार्यक्रममा अर्थ सचिव शिशिरकुमार ढुंगानाले मन्त्रालय, विभाग र सुरक्षा निकायबीच सूचना आदान प्रदान गर्न आवश्यक भएको बताउनुभयो ।

राजस्व सचिव रामशरण पुडासैनीले चुहावट नियन्त्रणका लागि नीतिगत र प्रणालीगत सुधार गरिरहेको बताउनुभयो । उहाँले आर्थिक गतिविधि बढेसँगै चुहावट हुने सम्भावना रहेकाले त्यसको नियन्त्रणमा सजग रहेको बताउनुभयो ।

गृहसचिव महेश्वर न्यौपानेले दोषीलाई कानुन अनुसार कारवाही गर्ने बताउनुभयो ।

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापाले राजस्व चुहावट नियन्त्रणका लागि आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । नियमित रुपमा छलफल गरि अघि बढ्ने समेत उहाँले बताउनुभयो ।

सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले निमयित रुपमा अनुमगन गर्नुपर्ने  बताउनुभयो ।

अर्थ मन्त्रालय राजस्व व्यवस्थापन महाशाखाका प्रमुख रामेश्वर दंगालले राजस्व चुहावट नियन्त्रणका लागि विभिन्न निकायबाट प्रयास भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘चुहावटमा संलग्नहरुलाई कारवाही भइरहेको छ ।’

भन्सार विभागका महानिर्देशक यमलाल भुसालले छोटी भन्सारहरुलाई प्रभावकारी बनाइने बताउनुभयो ।

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरले जिल्लास्तरमा रहेका चुहावट नियन्त्रण समितिलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !