हरिवनमा हलचलः मेयर एकलौटी ढंगले अघि बढ्दा सम्पूर्ण जनप्रतिनिधिले गरे बैठक बहिस्कार
हरिवनमा हलचलः मेयर एकलौटी ढंगले अघि बढ्दा सम्पूर्ण जनप्रतिनिधिले गरे बैठक बहिस्कार
काठमाडौं । सर्लाहीको हरिवन नगरपालिकाका उपमेयर हरिमाया घलान, वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले कार्यपालिका बैठक बहिष्कार गरेका छन् ।
शुक्रबार दिउँसो नगरपालिका कार्यालयको सभाहलमा राखिएको ३७औं कार्यपालिका बैठक उनीहरुले बहिष्कार गरेका हुन् । ३६औं कार्यपालिका बैठकमा भएको सहमति विपरीत मेयर रमेश बुढाथोकी (कमल)एकलौटी ढंगले अघि बढेको भन्दै २१ जना कार्यपालिका सदस्यमध्ये २० जनाले बैठक बहिष्कार गरेका हुन् ।
वडा नम्बर–३ का वडाध्यक्ष दिपमान लोप्चनका अनुसार चालु आर्थिक वर्षका लागि गत वर्ष नै ७२ लाख रुपैयाँमा खसी बजार ठेक्का लागेपनि ठेक्दारसँग सम्झौता नगरिएको र बैंक ग्यारेण्टी समेत नराखिएको विरोधमा बैठक बहिष्कार गरिएको हो ।
३६औं कार्यपालिका बैठकमै ठेकेदारसँग सम्झौता सम्पन्न गरी बैंक ग्यारेण्टी राख्न वा नगरपालिकामा नगदै जम्मा गर्न लगाउनुपर्ने र सो नभए ३७औं कार्यपालिका बैठकमा सहभागी नहुने जानकारी गराइएपनि मेयरले अटेर गरेको उहाँले बताउनुभयो । ’गत आर्थिक वर्षमा हरिवन नगरपालिकाले ७२ लाख रुपैयाँमा खसी बजार ठेक्का लगाएकोमा ०८१ जेठ ११ गतेसम्म ठेकदारले २५ लाख रुपैयाँ मात्र भुक्तानी गरेको, यसअघिका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले कुनैपनि सम्झौता नगरेको, पटक–पटक मेयरलाई भन्दा पनि सुनुवाइ नगरेको, ३६औं बैठकमा कार्यपालिका सदस्यहरुले ३७औं बैठकमा पैसा कि बैंक डिपोजिट की नगद भौचर पालिकालाई बुझाएको हुनुपर्नेछ नत्र अर्काे बैठक चल्दैन भनेका थियौं, तर आजको बैठकमा त्यो एजेण्डा नआएपछि बैठक बहिष्कार गरिएको हो’– लोप्चनले भन्नुभयो ।
आर्थिक वर्ष सम्पन्न हुन करिब डेढ महिना मात्र बाँकी हुँदा ठेकेदारबाट २५ लाख रुपैंया मात्र जम्मा भएको र सम्झौतासहित बैंक ग्यारेण्टी नहुँदा बाँकी रकम डुब्ने जोखिम देखिएको उहाँले बताउनुभयो ।
अर्का हरिवन १० का वडा अध्यक्ष शम्भु मैनालीले यस्तो अनैतिक कार्यले नगरको पहिलाको शाख गिर्ने र आगामी दिनमा विकास वजेट घट्ने बताउनु भयो ।
मैनालीले भन्नुभयो—‘ हामी रहुन्जेल कसैले पनि नगरमा अनैतिक कार्य गर्न सक्ने छैन । कसैले आफ्ना मान्छे पोस्ने कार्य गर्छ भने त्यसको प्रतिवादमा हामि तुरुन्त उर्तिन्छौं । ’
उहाँले फेरी भन्नुभयो —‘यो राजश्वको रकम जम्मा नभएसम्म कार्यपालिकाको बैठक बस्नै सक्दैन । हामी कसैको दमन सहदैनौ । ’
शम्भु मैनाली हरिवनका एकदमै लोकप्रिय वडाध्यक्ष हुनुहुन्छ ।