९ आश्विन २०८३, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भारतमा गर्मीले ५१ को गयाे ज्यान, तीनदिन भारी वर्षाको चेतावनी

प्रकाशित मिति :  29 May, 2024 3:01 pm


काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले नेपालको पश्चिमी तराईमा तीन दिनसम्म अत्यधिक गर्मीको सम्भावना रहेकोले सतर्क रहन सचेत गराएको छ ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा आजदेखि तीन दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम् तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन गरिएको छ ।

तातो हावा तथा तातो लहरबाट बच्न गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ (जुस, सर्वत) आदि प्रशस्त मात्रामा पिउन महाशाखाले आग्रह गरेको छ ।

भारतमा झन गर्मी

भारतका उत्तरपूर्वी राज्यका केही जिल्लामा भारी वर्षाको सम्भावना रहेको चेतावनी दिईएको छ भने अन्य स्थानमा भने गर्मीले विगतका रेकर्डहरु तोडिरहेको छ ।

मंगलबार राजस्थानको चुरुमा देशकै उच्च तापक्रम ५० दशमलव ५ डिग्री थियो । यसअघि राजस्थानको फलोदी लगातार तीन दिनसम्म देशकै सबैभन्दा तातो शहर बनेको थियो । यहाँको तापक्रम शनिबार ५० डिग्री, आइतबार ५१ डिग्री र सोमबार ४९ दशमलव ४ डिग्री रहेको थियो । मंगलबार यहाँको तापक्रम ४९ डिग्री थियो ।

मंगलबार राजस्थानमा गर्मीका कारण १६ जनाको ज्यान गएको छ । राज्यमा गर्मीका कारण ज्यान गुमाउने संख्या ५१ पुगेको छ ।

मंगलबार राजस्थान, उत्तर प्रदेश, मध्य प्रदेश, दिल्लीलगायत १२ राज्यका ७८ स्थानमा ४५ डिग्री वा सोभन्दा बढी तापक्रम रेकर्ड गरिएको थियो। सोमबार देशका १० राज्यका ७५ स्थानको तापक्रम ४५ डिग्री वा सोभन्दा बढी थियो । हिजो प्रयागराजको तापक्रम ४८.२ डिग्री थियो । ३० वर्षअघि सन् १९९४ मा यहाँ ४८.४ डिग्री तापक्रम रेकर्ड गरिएको थियो ।

मौसम विभागले बुधबार पञ्जाब, हरियाणा, चण्डीगढ, दिल्ली, राजस्थान, उत्तर प्रदेश, मध्य प्रदेशमा गर्मीको लहरको रेड अलर्ट जारी गरेको छ । यस बाहेक जम्मु डिभिजन, हिमाचल प्रदेश, महाराष्ट्रका केही भाग, छत्तीसगढ, बिहार, झारखण्ड र ओडिशाका एकान्त स्थानहरूमा पनि गर्मीको लहर आउने सम्भावना छ ।

अर्कोतर्फ, रेमाल आँधीका कारण सबै उत्तरपूर्वी राज्यहरू असम, मेघालय, अरुणाचल प्रदेश, नागाल्याण्ड, मणिपुर, मिजोरम, त्रिपुरामा मे २९ देखि जुन १ सम्म भारी वर्षाको सम्भावना छ । यहाँ वर्षाको लागि रेड अलर्ट जारी गरिएको छ ।

दिल्लीका स्वास्थ्य मन्त्री सौरभ भारद्वाजले सबै सरकारी अस्पतालहरूमा तातो लहरका बिरामीहरूका लागि दुईवटा बेड आरक्षित गरिने घोषणा गरेका छन् ।

जम्मुका धेरै ठाउँमा तापक्रम ४३ डिग्री नाघेको छ । यस्तो अवस्थामा जम्मू प्रशासनले जुन १ देखि सबै सरकारी र निजी विद्यालयका लागि ४६ दिनको गर्मी बिदाको घोषणा गरेको छ । जुन १ देखि जुलाई १६ सम्म विद्यालयहरु बन्द रहनेछन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !