२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

केपी ओली जस्ता नेता जेल बसेकाे कुरालाई मजाक नउडाउनूस्-याेगेश भट्टराई

प्रकाशित मिति :  २२ जेष्ठ २०८१, मंगलवार १६:०८


काठमाडाैं । प्रतिनिधि सभा सदस्य याेगेश भट्टराईले  काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले संयतता गुमाउँदै गएकाे बताउनुभएकाे छ ।

मंगलबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै एमालेका सचिव एवं सांसद् याेगेश भट्टराईले काठमाडाैं महानगरका मेयर शाहले संयतता गुमाउँदै गएकाे बताउनुभयाे ।

अरु कसैकाे रिसमा एमाले र एमाले नेतृत्वप्रति प्रहार नगर्न र आफू काठमाडाैं महानगरकाे मेयर हूँ भन्ने नभुल्न उहाँले बालेनलाई चेतावनी दिनुभयाे । काठमाडाैं महानगरका मेयरलाई सहयाेग गर्न एमाले तयार रहेकाे भन्दै उहाँले संयम भएर काम गर्न सुझाव दिनुभयाे । मेयर शाह निर्वाचित हुनासाथ एमाले अध्यक्ष ओलीले तबेला उपहार दिनुभएकाे भन्दै उहाँले तबेलाकाे धुनमा काम गर्नुस् भनेर साे उपहार दिनुभएकाे बताउनुभयाे ।

काठमाडाैं सुन्दर बनाउने याेजना लिएर आए मेयर शाहलाई सहयाेग गर्न एमाले तयार रहेकाे भन्दै सांसद् भट्टराईले तर उत्तेजना नफैलाउन र उच्छृंखल गतिविधि नगर्न बालेनलाई चेतावनी दिनुभयाे । उहाँले भन्नुभयाे – ‘लाखाैं युवाले तपाइँमार्फत याे देशकाे भविष्य खाेजेका हुन्, तपाइँमार्फत् आफ्नाे सपना र भविष्य खाेजेका हुन्, तर पछिल्लाे दिनमा तपाइँ जसरी जाँदै हुनुहुन्छ, ती युवाहरुका सपनामाथि तपाइँ धाेका दिँदै हुनुहुन्छ, मुलुकलाई धाेका दिँदै हुनुहन्छ, यस ढंगले नजान अनुराेध गर्छु ।’

केपी ओली जस्ता नेताहरु जेल बसेर र उहाँहरुका उत्तराधिकारी आफूहरु लडेर अहिलेकाे लाेकतान्त्रिक व्यवस्था आएकाे भन्दै नेताहरु जेल बसेकाे कुरालाई मजाक नबनाउन चेतावनी दिनुभयाे । उहाँले भन्नुभयाे – ‘नेताहरु जेल बसेकाे कुरालाई मजाक उडाउनुभयाे, हामीलाई दु:ख लागेकाे छ, चाहे केपी ओली हाेस्, चाहे शेरबहादुर देउवा, प्रचण्ड, माधव नेपाल, उप्रेन्द्र यादव, महन्थ ठाकुर जाे अग्रभागमा आज संसद्‍मा हुनुहन्छ, उहाँहरु जेल बसेर, उहाँहरुका उत्तराधिकारी हामी याे देशकाे आन्दाेलनमा लागेर याे व्यवस्था ल्याएका हाैं, त्यसवापत आज तपाइँ काठमाडाैं महानगरकाे मेयर हुनुहुन्छ, अनि ती नेताहरुकाे जेल बसाइँलाई तपाइँले मजाक उडाउने ?’

आफ्नाे इतिहास, संस्कृति र देशप्रति गर्व गर्ने मानिस देशभक्त हुने बताउँदै सांसद् भट्टराईले भन्नुभयाे – आफ्नाे इतिहास, संस्कृति र देशप्रति कसैले भर्त्सना गर्दै भने त्याे नागरिक कसरी देशभक्त हुन्छ ?’

यी नेताले लडेर ल्याएकाे लाेकतन्त्रमा यिनै नेतामाथि बदनाम नगर्न उहाँले बालेनलाई चेतावनी दिनुभयाे । केपी ओली जेल बसेकाे कुरालाई उडाउनु भनेकाे आफ्नै आमामाे अस्तित्वमाथि प्रश्न उठाउनु रहेकाे बताउनुभयाे । ‘याे त आफ्नै आमाकाे अस्तित्वमाथि तपाइँले चिथाेर्दै हुनुहुन्छ, यी नेताले लडेर ल्याएकाे लाेकतन्त्र हाे, यिनै नेताहरुलाई बदनाम गर्नु आफ्नै आमाकाे अस्तित्वमाथि प्रश्न उठाएजस्तै हाे, तपाइँकाे आमाप्रति प्रश्न नगर्नुस्, तपाइँ काठमाडाैं महानगरकाे प्रमुख हाे भन्ने कुरा पनि नभुल्नुस्’-सांसद् भट्टराईले भन्नुभयाे ।

हरेक व्यक्तिलाई कानुनले अधिकार र सीमा ताेके भन्दै उहाँले आफ्नाे अभिभावक जस्ताे नेतालाई गाली गर्नु गलत भएकाे बताउनुभयाे ।लाेकतन्त्र, गणतन्त्र, याे व्यवस्था ल्याउन मरिमेटेकाे एमाले र एमाले नेतृत्वमाथि गाली गर्नु भनेकाे आफैं आकाशतिर थुकेपछि त्याे कहाँ झर्छ भन्ने हेक्का राख्न चेतावनी दिनुभयाे ।

काठमाडाैंकाे जनप्रतिनिधिले यहाँकाे सभ्यताकाे प्रतिनिधित्व गर्ने भन्दै सांसद् भट्टराईले आज त्याे सभ्यतामाथि धावा बाेल्ने काम भएकाे बताउनुभयाे । ०५४ सालमा काठमाडाैं महानगरकाे चुनाव जितेपछि काठमाडाैंलाई सभ्य, सफा सहर बनाउने याेजना स्वरुप काम गरेकाे उहाँले स्मरण गराउनुभयाे । वैकल्पिक बाटाे खाेल्नका लागि वाग्मती करिडाेर, विष्णुमति करिडाेर, मनाेहरा करिडाेर बनाउने, खुशीबु जग्गा प्लानिङ गर्ने, मनाेहरा र चाैमतीकाे टाउनप्लानिङ गर्ने, नयाँ शहर बनाउने, काठमाडाैंका बाटा चाैडा बनाउने, केशव स्थापित हुँदा माइतीघर मण्डला, तीनकुने लगायतका ठाउँ विस्तार गर्ने काम एमालेले गरेकाे सांसद् भट्टराईले स्मरण गराउनुभयाे ।

विद्यासुन्दर शाक्य आएपछि भूकम्पपछिकाे पुर्ननिर्माणमा उल्लेख्य भूमिका खेलेकाे भन्दै उहाँले कमलपाेखरी, रानीपाेखरी पुर्ननिर्माण, काठमाडाैं दरबार स्क्वार, दरबार हाइस्कुलकाे पुर्ननिर्माण लगायत थुप्रै काम एमालेले भूकम्पकाे कठाेर परिस्थितिमा काम गरेकाे बताउनुभयाे । १५ अर्ब बचत गरेर शाक्य बिदा हुनुभएकाे स्मरण गराउनुभयाे । काठमाडाैंलाई सुन्दर बनाउनका लागि एमाले विगतदेखि नै पहल गर्दै आएकाे स्मरण गराउँदै सांसद्ले काठमाडाैं लागि ल्याण्डफिल्ड साइड र बञ्चराे डाँडामा केपी ओली नेतृत्वकाे ल्याण्डफिल्ड साइड र त्यहाँसम्मकाे बाटाे बनाउने काम गरेकाे स्मरण गराउनुभयाे ।

बालेनका साइबर ग्यांङले लखेट्दैमा डराउनु नपर्ने भन्दै सांसद् भट्टराईले साइबर ग्याङले राजनीतिलाई थाम्न नसक्ने बताउनुभयाे । काठमाडाैं जस्ताे सभ्यताकाे केन्द्रमा आफूहरुले त्यस्तै जनप्रतिनिधि चाहेकाे उहाँले बताउनुभयाे ।

एमालेले आफ्ना जनप्रतिनिधिलाई मेयरसँग मिलेर काम गर्न सुझाएकाे स्मरण गर्दै सांसद् भट्टराईले अन्तकाे रिस ल्याएर एमाले अधयक्षमाथि नपाेख्न चेतावनी दिनुभयाे । उहाँले भन्नुभयाे – ‘कहाँकाे रिस ल्याएर एमाले अध्यक्षमाथि पाेख्दै हुनुहुन्छ ।’

एमाले हरेक कुराकाे छानबिनका लागि तयार रहेकाे सांसद् भट्टराईले प्रष्ट पार्नुभयाे । ‘कुनै बेला वाइडबडीमा चर्काे चर्काे कुरा उठाइयाे, आज वाइडबडी किन उठ्दैन, किनभने वाइडबडीकाे छानबिनमा एमालेकाे काेही पनि संलग्न छैन, काे काे संलग्न छ प्रष्ट देखिएकाे छ, त्यसपछि च्याप्टर क्लाेज भयाे, भुटानी शरणार्थीमा सेटिङ गरेर आफ्ना पलाधिकारी छुटाउन एमाले गएकाे छैन, हामी त कानुनमा अनुसन्धानका लागि सहयाेग गर्नुस् भनेर हामीले हाम्रा पदाधिकारीलाई भनेका छाैं’- उहाँले भन्नुभयाे ।

एमालेमाथि कसी लगाउन र प्रश्न उठाउनु नपर्ने प्रष्ट पार्दै सांसद् भट्टराईले तमाम लाेकतान्त्रिक आन्दाेलनमा एमालेकाे अग्रगामी भूमिका रहेकाे । गएका ३ वर्ष एमालेलाई घेराबन्दी गर्न खाेजिएकाे भन्दै उहाँले एमालेका अध्यक्ष ओली आजकाे आधुनिक युगकाे अभिभन्यू भएकाले घेरा ताेड्न र घेराभित्र पस्न पनि आउने बताउनुभयाे । ‘महाभारतकाे युद्धमा अभिमन्युलाई घेराभित्र राखेर मार्न खाेजियाे, गएका ३ वर्ष एमालेलाई घेराबन्दी गर्न खाेजियाे, तर हामीलाई थाहा छ आजकाे आधुनिक एमाले र एमालेकाे अध्यक्ष केपी ओली आजकाे अभिमन्यु हाे,घेरा ताेड्न पनि आउँछ घेराभित्र पस्न पनि आउँछ’- उहाँले भन्नुभयाे ।

देशलाई सही दिशामा अघि बढाउन सबै दल सहकार्य गरेर अघि बढ्नुपर्ने बताउनुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !