३० श्रावण २०८३, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चुलाचुलीले गरेको एउटा दामी काम

प्रकाशित मिति :  8 June, 2024 10:57 am


दमक । इलामको चुलाचुली गाउँपालिका जातीय भेदभाव तथा छुवाछूत मुक्त भएको छ । चुलाचुली गाउँपालिकाले एक भव्य समारोह बीच पालिकालाई भेदभाव तथा छुवाछूत मुक्त घोषणा गरेको हो ।

समारोहमा पालिका अध्यक्ष राजेन्द्र केरुङले चुलाचुली गाउँपालिका भौगोलिक विविधताको मात्र नभएर जातीय विविधताको पनि धनी रहेको बताउनुभयो । चुलाचुली तिब्र गतिमा विकासमा अगाडि बढिरहेको बताउँदै उहाँले भौतिक विकास सँगसँगै मानवीय विकासलाई पनि पालिकाले ध्यान दिएकाले जातीय भेदभाव तथा छुवाछूत मुक्त घोषणा गरिएको जानकारी दिनुभयो ।

पालिकाकी उपाध्यक्ष दिलकुमारी लावतीले मेलमिलाप र एकताको वातावरण बनाउन पालिकाले उदाहरणीय कामहरु गरिरहेको र त्यस क्रममा जातीय भेदभाव तथा छुवाछूत मुक्त घोषणा गरिएको बताउनुभयो ।

जातीय भेदभाव तथा छुवाछूत मुक्त घोषणाले स्थानीयवासी उत्साहित भएका छन् । विगतमा इलामको अति पिछडिएको र दुर्गम ठाउँका रुपमा कहलिएको चुलाचुली अहिले विकास र जागरणका दृष्टिले नमूना बनेको छ । घोषणा समारोहमा सबै वडाका अध्यक्ष तथा जनप्रतिनिधिहरुको उपस्थिति थियो ।

छुवाछुत मुक्त घोषणा भएपछि चुलाचुलीको प्रतिष्ठा अझ बढेको विचार कार्यक्रममा दलित समन्वय समितिकाअघ्यक्ष ले बताउनुभयो । पालिकाको पहलमा जातीय विभेद तथा छुवाछूत मुक्त घोषणा भएपछि चुलाचुलीको प्रतिष्ठा अझ बढेको उहाँले बताउनुभयो ।

दछुवाछूत विरुद्धको दवाब समूहका अध्यक्ष चक्र गजमेरले जातीय भेदभाव र छुवाछूत रहेको समाजले कहिले प्रगति गर्न नसक्ने बताउँदै नेपालको विकास नहुनुको एउटा मुख्य कारण जातीय विभेद र छुवाछूत पनि हो भन्नुभयो ।

गाउँपालिका स्तरीय दलित समन्वय समितिका अध्यक्ष जनक महराले नेपालमा अहिले पनि कुनै न कुनै रुपमा छुवाछूत कायम रहनु सबै राजनीतिक दलका लागि लज्जाको विषय भएको बताउनुभयो ।

छुवाछूत विरुद्ध दवाब समूहकी सचिव कृष्णा गजमेरले चुलाचुली गाउँपालिका छुवाछूत मुक्त भएको व्यवहारमा पनि हेर्न प्रतीक्षा गरिरहेको बताउनुभयो ।

नेकपा एमाले झापा जिल्ला कमिटी सदस्य मिना विश्वकर्माले पौने दुई सय वर्ष अघि जंगबहादुर राणा वेलायत भ्रमणबाट फर्किएपछि खैरेले छोएको खाँदा अपवित्र भइयो भनेर चोख्याउन पूजापाठ गरिएको इतिहास बताउँदै अहिले त्यस्तो नहुने बताउनुभयो । छुवाछूत इतिहास बन्न गइरहेको बताउँदै उहाँले अझै पनि भेदभाव रहेको बताउनुभयो ।

चुलाचुलीमा ५५ जातजातीको बसोबास रहेको पालिकाले जनाएको छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !