७ मंसिर २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

डा. अमरेशकुमार सिंहकाे प्रश्न, मधेशमा कृषि कलेज खाेल्दा के पाप लाग्छ ?

प्रकाशित मिति :  ३१ जेष्ठ २०८१, बिहीबार १५:३३


काठमाडाैं । स्वतन्त्र सांसद् डा. अमरेशकुमार सिंहले सामुदायिक विद्यालयमा रहेका विद्यालय व्यवस्थापन समिति खारेज गर्नुपर्ने बताउनुभएकाे छ ।

मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा विनियोजन शीर्षकमा ४ वटा मन्त्रालयमा खर्चको कटाैतीकाे प्रस्ताव पेस गर्दै सांसद् सिंहले विद्यालय व्यवस्थापन समितिका कारण राजनीतिक दल र नेतालाई मात्र फाइदा पुगेकाे बताउनुभयाे ।

विद्यालय व्यवस्थापन समितिले शिक्षाकाे गुणस्तरमा कुनै याेगदान नभएकाे उहाँले बताउनुभयाे । ‘याे व्यवस्थापन समिति किन खारेज नगर्ने ? समितिले शिक्षाकाे गुणस्तर बढाउन-इन्फास्टक्चर के याेगदान गरेकाे छ ? केही छैन, लुट्ने काम मात्र गरेकाे छ, आफ्नाे भतिजा बुहारी छाेराछाेरीलाई बिना कमिशन नियुक्ति गरेकाे छ, पछि यही बानेश्वरकाे सडकमा जुलुस निकालेर स्थायी चाहियाे’- सांसद् सिंहले भन्नुभयाे ।

शिक्षामा व्यापारीकरण र राजनीतिककरण भइरहेकाे उहाँले बताउनुभयाे । सामुदायिक विद्यालयमा विद्यार्थी र शिक्षककाे अनुपात नमिलेकाे सांसद् सिंहले बताउनुभयाे । शिक्षाबिना केही नहुने भन्दै उहाँले देश र जनताकाे आवश्यकता अनुसार शिक्षामा गुणस्तर चाहिने बताउनुभयाे ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई आफूहरुकाे पूर्ण साथ रहेकाे भन्दै सांसद् सिंहले अघि बढ्न सुझाव दिनुभयाे । स्कूलबाट खेलकुद हराएकाे भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयाे ।

मधेशमा कृषि कलेज खाेल्न सरकारकाे ध्यानाकर्षण गराउँदै सांसद् सिंहले प्रश्न गर्नुभयाे – ‘मधेशमा कृषि कलेज खाेल्दा के पाप लाग्छ ?’ वैदेशिक राेजगारी कम्पनी पनि खारेज गर्नुपर्ने उहाँले बताउनुभयाे ।

मन्त्रीहरुलाई मात्र बजेट बाँड्ने हाे भने संसद्‍मा प्रस्तुत गर्ने काम नगर्न चेतावदी दिँदै सांसद् सिंहले भन्नुभयाे – ‘मेराे क्षेत्रमा बजेट नै परेकाे छैन, मन्त्रीहरुकाे बीचमा मात्रै बजेट बाँड्ने हाे भने संसद्‍मा प्रस्तुत गर्ने काम नगरियाेस्, यस्ता बजेट खारेज गरियाेस् ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !