चालकहरु हड्तालमा उत्रिएपछि, चालकहरुलाई मन्त्रालयले वार्तामा बोलायो
काठमाडौं । ट्यांकर चालकहरूले पेट्रोलियम ढुवानी रोकेपछि काठमाडौं उपत्यकामा इन्धन अभाव भएको छ । चालकहरु हड्तालमा उत्रिएपछि थानकोट डिपोबाट इन्धनको वितरण प्रभावित भएको छ ।
सात बुँदे माग राख्दै पेट्रोलियम ढुवानी गर्ने ट्यांकर चालक आन्दोलित भएका हुन। ढुवानी मजदुरहरूको तलब भत्ता श्रम ऐन अनुसार हुनुपर्ने र श्रमिकहरूको सुरक्षा ग्यारेन्टी गरिनुपर्नेलगायतका माग नेपाल पेट्रोलियम ट्यांकर चालक संघका अध्यक्ष ईश्वर लामाले बताउनुभयाे।
जेठ ३२ गतेदेखि कालोपट्टी बाँधेर काम गरेको र सोमबारदेखि बागमती प्रदेशमा इन्धनको वितरण गर्ने थानकोट डिपोमा इन्धन नखन्याई विरोध प्रदर्शन गरिरहेको लामाले बताउनुभयाे ।’
‘निरन्तर आन्दोलनपछि आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वार्ताका लागि बोलाएको छ । माग पुरा गर्ने प्रतिवद्धता आए आन्दोलनका कार्यक्रमहरु फिर्ता हुनसक्छन,’ अध्यक्ष लामाले भन्ननुभयाे। चालकहरुलाई आज ११ः३० का लागि मन्त्रालयले वार्ताका लागि बोलाएको हो ।
श्रम ऐनअनुसार नियुक्ति र सुविधासँगै, स्वरोजगारको हकमा मात्र लागू गरिएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गर्न, तापक्रमको सही व्यवस्था गर्न, सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन लगायतका माग गरेका छन् । ट्यांकर चालकहरुको हडतालका कारण काठमाडौं उपत्यकाका अधिकांश पम्पहरु बन्द भएका छन् ।