७ मंसिर २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

संसद् सचिवालयका कर्मचारीलाई तत्काल भत्ताको व्यवस्था गरियोस् – रघुजी पन्त

प्रकाशित मिति :  ४ असार २०८१, मंगलवार १३:००


काठमाडौं । नेकपा एमालेका सांसद् रघुजी पन्तले संघीय संसद् सचिवालयका कर्मचारीलाई तत्काल भत्ताको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद् पन्तले नियमअनुरुप पाउने सचिवालयका कर्मचारीको अतिरिक्त समयमा गरेको कामको भत्ता तत्काल दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

कोभिड लागे यता अतिरिक्त समयमा काम गरेको भत्ता सचिवालयका कर्मचारीले नपाएको भन्दै उहाँले अरु कार्यालयका कर्मचारीले भत्ता पाउने संसद् सचिवालयकाले नपाउने कुरा अन्यायपूर्ण भएको बताउनुभयो । सांसद् पन्तले भन्नुभयो – ’संसद्का कर्मचारीले ओभरटाइम काम गर्दा नियम कानुनअनुसार पाउनुपर्ने भत्ता अहिले पनि नपाउने कुरा अन्याय भो, त्यो अर्थ मन्त्रालय र अन्तका कर्मचारीले पाउने अनि संसदका कर्मचारीले किन नपाउने ? अहिले सभामुखलाई सहयोग गर्नुपर्नेमा संसद्का कर्मचारीहरु बाहिर धर्नामा हुनुहुन्छ, संसद्भित्र यो दृश्य देखिनु आफैंमा दुःखद हो ।’

कुनै पनि कार्यालयका कर्मचारीले नपाएको भए चित्त बुझाउन सकिने तर संसद्का कर्मचारीले मात्र नपाउने कुरा न्यायोचित हुन नसक्ने बताउनुभयो ।

संसद्मा पत्रिका कटौती गरिएकोमा पनि आपत्ति जनाउनुभयो । मुलुकको आर्थिक अवस्था सांसद्लाई पत्रिका दिन नसक्ने अवस्थामा पुगेको हो भन्दै सांसद् पन्तले प्रश्न गर्नुभयो । ’त्यतिमात्र होइन ६,७ महिना अगाडिसम्म बाहिर सांसद्हरूलाई पढ्न जति अखबारहरू राखिन्थ्यो ती महत्त्वपूर्ण अखबारहरू अहिले कटौती भएको छ, के हाम्रो मुलुकको आर्थिक अवस्था त्यति कमजोर भएको हो ? सांसदहरूलाई पढ्न दिने पत्रिका पनि कटौती गर्नुपर्ने ?’– उहाँको प्रश्न छ ।

संसद्लाई सरकारले जहिले पनि सहयोग गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो – ’संसद् नै सरकारको जन्मदाता हो, संसद्ले सरकार दिन्छ, प्रधानमन्त्री दिन्छ, संसद्को गरिमा बढ्यो भने संसदको काम प्रभावकारी हुन्छ, यसबारे सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँछु ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !