३० श्रावण २०८३, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

विद्युतीकरणले महाभारत गाउँपालिकामा ल्याएको खुसी

प्रकाशित मिति :  18 June, 2024 2:27 pm


धुलिखेल (काभ्रेपलाञ्चोक) । जिल्लाको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ का देव तामाङले मःम पसल सञ्चालन गर्दै आउनुभएको पाँच वर्ष भयो । वडा नं ५ को किल्लामा पसल सञ्चालन गर्दै आउनुभएका उहाँले गाउँमा विद्युत्को सुविधापछि आम्दानी पनि बढेको अनुभव सुनाउनुभयो ।
यसअघि सोलार प्रयोग गरी मःम बनाउने र विभिन्न सामान तयारी गर्दा घाम लाग्ने समयमा मात्रै मेसिन चल्दा कहिलेकाहीँ अप्ठ्यारो हुने भए पनि अहिले केन्द्रीय विद्युतीकरणको सेवा विस्तारले निकै सहज भएको उहाँको भनाइ छ । अहिले बत्तीको उपभोग गर्न पाएपछि सामान तयार गर्न र फ्रिजमा राख्न सजिलो भएको छ, उहाँले भन्नुभयो ।
रोशी गाउँपालिका घर भई महाभारत गाउँपालिका–५ मा टेलरिङ व्यवसाय सञ्चालन गर्दै आउनुभएका महेश सुन्दासले पनि बत्तीको सुविधाले काममा सहज भएको बताउनुभयो । बत्तीको सुविधापछि मेसिन चलाएर चाँडो काम गर्न सकिएको उहाँले सुनाउनुभयो ।
केन्द्रीय प्रसारण लाइन पुगेपछि वडा नं ५ चारकिल्लाका कान्छामान ग्लानले गाउँमा नै कुटानी/पिसानी मिल सञ्चालन सुरु गर्नुभएको छ । आफूले सुरु गरेको सो व्यवसायले गाउँमा पनि सुविधा पुगेको उहाँले बताउनुभयो । गाउँमा नै मिल सञ्चालमा आएपछि मकै, कोदो, फापर र गुहँलगायत तोरी र सस्र्युं पेल्नका लागि टाढा जानुपर्ने बाध्यता हटेको छ । यसअघि कुटनीपिसनी तथा तोरी पेल्नका लागि भकुण्डे र बनेपासम्म पुग्नुपर्ने बाध्यता थियो ।
महाभारत–४ कलवानका स्थानीय दीपेश लामा र वडा नं ३ का दिलकुमार आले मगरले बत्ती पुगेपछि विद्यार्थीको पढाइमा सहयोग पुगेको बताउनुभयो । महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले मुलुक सङ्घीय संरचनामा गएपछि विकट बस्तीमा विद्युत् र सडक सञ्जाल पु¥याउन स्थानीय जनप्रतिनिधिले खेलेको भूमिका महत्वपूर्ण भएको बताउनुभयो ।
नेपाल विद्युत् प्राधिकरणको आयोजना तथा विश्व बैङ्कको लगानीमा २०७७ सालबाट सुरु भई महाभारत गाउँपालिकालाई २०८१ मा पूर्ण विद्युतीकरण भएको पालिका घोषणा गरिएको थियो । पहिले टुकी बत्तीदेखि केही ठाउँमा साना लघुजलविद्युत् र सोलारमा आश्रित यहाँका स्थानीय केन्द्रीय प्रसारण लाइन विस्तारपछि खुसी भएका छन् ।
अहिले गाउँमा योजनाबद्ध विकासका आयोजना अघि बढाइएको उल्लेख गर्दै उहाँले डेढ वर्षभित्र कालोपत्र सडकको पनि पहुँच विस्तार हुने बताउनुभयो । साथै खानेपानी, मुख्य सडकदेखि वडाहरु जोड्ने साना सडक निर्माण र कृषि उत्पादनका लागि कफी पकेट क्षेत्र घोषणा गरिएको उहाँको भनाइ छ । यसका लागि पालिकाले आवश्यक सहजीकरण गरिरहेको उहाँले बताउनुभयो ।
पूर्ण विद्युतीकरण घोषणाका अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अब काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत र खानीखोला गाउँपालिकाले काभ्रेको कर्णाली भनिरहनुपर्ने स्थिति नरहने अवस्था बनाउने बताउनुभएको थियो ।
विकटका बस्तीलाई विकासको मूल प्रवाहमा ल्याउन आवश्यक विद्युतीकरणको काम भइरहेको र सडक सञ्जालले जोड्नका लागि जनमुक्ति मार्ग निर्माणको अभियान तीव्र गतिमा भइरहेको उहाँको भनाइ थियो ।  मन्त्री बस्नेतले महाभारत गाउँपालिकालाई गत जेठ ३१ गते पूर्ण विद्युतीकरण पालिका घोषणा गर्नुभएको थियो ।
–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !