मनसुनमा सुनसान मनाङ
गण्डकी । पदयात्राका लागि प्रसिद्ध गन्तव्य मनाङ हिजोआज सुनसान छ । जेठदेखि भदौसम्म पदयात्रा पर्यटनका लागि ‘अफसिजन’ मानिन्छ । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने मनाङमा अहिले फाट्टफुट्ट मात्र विदेशी पर्यटक भित्रने गरेका छन् ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय मनाङका कार्यालय प्रमुख ढकबहादुर भुजेलले केही दिनयता मनाङ मनसुन भएको बताउनुभयो । वर्षात्को याममा मनाङमा आन्तरिक पर्यटक कम आउँछन्, उहाँले भन्नुभयो, असोजदेखि मङ्सिर र फागुनदेखि वैशाख मुख्य पर्यटकीय याममा यहाँ पर्यटकको सङ्ख्या बाक्लो हुन्छ ।
चामेका पर्यटन व्यवसायी फुर्वा लामाले मनाङवासीको मुख्य आयआर्जनको स्रोत पर्यटन व्यवसाय रहेको बताउनुभयो । अहिले ‘अफसिजन’ भएकाले पर्यटकीय गतिविधि कम छ, व्यवसायीहरू फुर्सदिला छन्, उहाँले भन्नुभयो, जाडो याममा व्यवसायीहरू होटल बन्द गरेर काठमाडौँ, पोखरालगायतका ठाउँमा जाने गर्छन् । सडक विस्तारले पदमार्ग छोटिँदा अन्नपूर्ण चक्रीय पदमार्गको साख गुम्दै गएको लामाको अनुभव छ ।
पहिले २८ दिनको पदयात्रा अहिले एक हप्तामै छोटिएको छ, यसले गर्दा विदेशी पदयात्रीको आकर्षण घट्दै गएको छ, उहाँले भन्नुभयो, सडक आएपछि पदमार्गमा पर्ने होटल व्यवसायी विस्थापित भएका छन् । विकट भूगोल र जोखिमपूर्ण सडकका कारण मनसुनका बेला मनाङमा पर्यटकीय चहलपहल घट्ने गरेको हो । चट्टानी पहराको खोँच र मस्र्याङ्दी नदीको किनारैकिनार मनाङ पुग्ने सडक यात्रा गर्नुपर्छ । यहाँको पदमार्ग पनि उत्तिकै जोखिमपूर्ण छ ।
‘एक्याप’ मनाङका प्रमुख भुजेलले गत वर्ष २१ हजार चार ९५ विदेशी पर्यटकले मनाङ घुमफिर गरेको जानकारी दिनुभयो । बढीजसो युरोपियन मुलुकका पर्यटकको रोजाइमा मनाङ पर्ने गरेको छ । हमास–इजरायल युद्धका कारण इजरायलका पर्यटक पछिल्लो समय कम आएको उहाँको भनाइ छ । आन्तरिक पर्यटकको तथ्याङ्क ‘एक्याप’सँग छैन । भारतीय र नेपाली पर्यटक ‘बाइक राइडिङ’ गरेर पनि मनाङ आइपुग्छन् ।
हिमालपारिको जिल्ला मनाङ हुँदै पाँच हजार चार सय मिटरको उचाइमा अवस्थित थोराङ्ला भञ्ज्याङ पार गरेर मुस्ताङको मुक्तिनाथ निस्कने पर्यटक अधिक हुने गरेको ‘एक्याप’ मनाङका प्रमुख भुजेलले बताउनुभयो । कतिपय पर्यटक लार्के भञ्ज्याङ काटेर गोरखाको मनास्लु क्षेत्र पुग्ने गरेको उहाँको भनाइ छ ।
आन्तरिक पर्यटक बढीजसो तिलिचो ताल घुम्न आउने गरेका छन् । ङिस्याङ गाउँपालिका–२ मा पर्ने तिलिचो ताल समुन्द्री सतहदेखि चार हजार नौ सय १९ मिटरको उचाइमा अवस्थित छ । चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले सडकको पहुँच विस्तारसँगै पदयात्रामा आधारित मनाङको पर्यटन सङ्कटमा परिरहेको बताउनुभयो । “यहाँ आउने पदयात्री पर्यटक हुन्, सडकले पदमात्र छोटिएका र भत्किएका छन्, अब वैकल्पिक पदमार्ग बनाउनुपर्छ, सङ्घ र प्रदेश सरकारले यस विषयमा सोचोस्”, उहाँले भन्नुभयो ।
-रासस












