९ आश्विन २०८३, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

लमजुङ बगुममा पहिरो गएको ९ घण्टा हुनलाग्दा समेत घटनास्थलमा अझै पुग्न सकेन प्रहरी

प्रकाशित मिति :  26 June, 2024 9:31 am


काठमाडौं । लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुममा पहिरोले घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता भएका छन् । पहिरो गएको ९ घण्टा हुनलाग्दा समेत खोजी र उद्दारका लागि अझै घटनास्थलमा प्रहरी पुगेको छैन ।

क्व्होलासोथार गाउँपालिका ३ को पोगुममा भारी वर्षापछि बुधबार बिहान करिब १ बजेतिर गएको पहिरोले तीन वटा घर बगाएको हो । सोही पहिरोमा परी मित्रमान गुरुङको परिवारका चार जना बेपत्ता भएको वडा नम्बर ३ का सदस्य भोज बहादुर घलेले जानकारी दिनुभयाे ।

बेपत्ता हुनेमा ६९ वर्षीय मित्रमान गुरुङ, उहाँको बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, र जातिनी द्वय ७ वर्षीया इच्छा गुरुङ र ५ वर्षीया नम्रता गुरुङ रहेको घलेले जानकारी दिनुभयाे ।

उहाँले भन्नुभयाे, ‘पहिरोमा चार जना बेपत्ता हुनुभएको छ । स्थानीयले खोजीकार्य गरिरहेका छन् । प्रहरीहरु उद्दारका लागि बिहानै हिँडिसक्नुभएको छ, बाटोमा आउँदै हुनुहुन्छ, यहाँ आइपुग्नु भएको छैन ।’ उहाँले थपे, ‘गएरातिको पानीले ठाउँठाउँमा सडक बगाएको रहेछ, गाडी आउजाउ गर्न नसक्ने भएर ढिला भएको जानकारी दिनुभएको छ ।’

पहिरो करिब तीन सय मिटर लामो पहिरोमा स्थानीय मित्र घले, मित्रमान गुरुङ र होमबहादुर गुरुङको घर बगाएको हो ।

घलेका अनुसार घटनास्थलको करिब ३२ किलोमिटरको दूरीमा प्रहरी कार्यालय पर्छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !