कसैले जिद्धि गरेर यथास्थितिमा देश अगाडि जान सक्ने अवस्थामा छैन : केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले पनि मानिस भोकमरीमा रहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।
नेकपा एमालेको कृषि तथा सहकारी विभागले आयोजना गरेको समृद्धिको आधार : सम्मानित किसान र कृषिमा रूपान्तरण नीति संवाद कार्यक्रममा बोल्दै ओलीले कृषिलाई आधुनिकीकरण गरी भोकमरीको समस्या समाधान गर्नुपर्ने बताउनुभयो । यसको लागि ठोस नीति निर्माण हुनुपर्नेमा ओलीले जोड दिनुभयो । टुक्राटाक्री जमिनलाई चक्लाबन्दी गरी व्यावसायिक खेतीमा लाग्नु पर्ने ओलीले बताउनुभयो ।
कृषिबाट जीविका नै नचल्ने भएपछि मानिस गाउँ छाडेर हिँड्ने क्रम बढेको ओलीले बताउनुभयो । गाउँमा जीविका नै नचल्ने भएपछि गाउँ उजाड बन्दै गएको ओलीले सुनाउनुभयो ।
अहिलेको ठुलो चुनौती गरिबीका रेखामुनिका मानिसलाई गरिबीको रेखामुनिबाट माथि ल्याउनु भएको ओलीले बताउनुभयो । ‘मानिसको जात भोकै पर्नु, भोकले मर्नु सबैभन्दा बीभत्स कुरा हो, २१ औँ शताब्दीको सभ्यता र विकासको लाग एउटा मजाक हो, एउटा चुनौती हो’, ओलीले बताउनुभयो ।
गरिबीसँगै बेरोजगारी पनि बढ्ने भएकोले यसको समाधानको प्रयास गर्नुपर्नेमा ओलीले जोड दिनुभयो । त्यही कुरालाई विचार गरेर एमाले सरकारमा हुँदा केही प्रयास अघि बढाएको भए पनि अहिले ती प्रयास त्यति अघि बढ्न नसकेका उहाँले बताउनुभयो ।
देशलाई गरिबीबाट मुक्त गराउने प्रयास अब अघि नबढाई नहुने ओलीले प्रष्ट पार्नुभयो । ‘कसैले जिद्धि गरेर यथास्थितिमा देश अगाडि जानै सक्ने अवस्थामा छैन, त्यस कारण अहिलेको आवश्यकता उद्यमशीलता र व्यावसायिकता हो’, ओलीले भन्नुभयो ।
कृषिमा आधारित उद्योगलाई प्राथमिकता दिएर काम गर्नुपर्ने उहाँले बताउनुभयो । यस्ता उद्योगले निर्यातजनक उद्योगको रूप लिने ओलीको भनाइ छ ।
पैसा हुनेलाई मसिनो खाने बानी परेको भए पनि २० प्रतिशत जनसङ्ख्या भोकमरीमा परेकोले उसलाई मोटो चामल भने पनि टन्न खाने स्थिति बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । ‘मसिनोमा पौष्टिकता हुने, मोटोमा नहुन भन्ने होइन, बरु मसिनोमा भन्दा बढी मोटोमा नै पौष्टिकता हुन्छ’, ओलीले भन्नुभयो ।
नेपाली समाजमा खान नपाएकोमा चिन्ता भन्दा पनि बढी सुन जोड्न नसकेकोमा चिन्ता देखिएको बताउँदै ओलीले त्यो वाइह्यात कुरा भएको बताउनुभयो । खान नपाए पनि हातमा लालपुर्जा खोज्ने कुराको पनि अर्थ नरहेको ओलीले बताउनुभयो । ‘यो गरिबीको सङ्केत हो, यो सबै गरिब मानसिकताको सङ्केत हो, यसबाट हामीले समाजलाई माथि उठाउनु पर्छ’, ओलीले भन्नुभयो ।
नेपालमा पाँच वर्ष भित्रै कृषि क्षेत्रमा असाधारण परिवर्तन ल्याउन सकिने ओलीले बताउनुभयो । अब परिवारलाई इकाई मानेर उँभो लाग्न नसकिने उहाँको धारणा छ । अब सामूहिक खेती र एकै खालको बाली लगाउनु पर्नेमा उहाँको जोड छ । यसको साथै माटोको उपचार जरुरी रहेको ओलीले प्रष्ट पार्नुभयो ।
देशलाई व्यवस्थापन गर्न गाह्रो नभए पनि त्यसको उचित व्यवस्थापन गर्न सक्नु पर्ने उहाँको राय छ । नेपाल जस्तो कृषिको सुरुवात भएको देशले सबैभन्दा पछि कृषि सुरु गरेको इजरायलसँग सिक्नु पर्ने अवस्था आएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । नेपालीको समय खायो ढिँडो, हल्यो हिँड्योको अवस्थामा रहेको ओलीले बताउनुभयो ।
देशलाई गरिबीबाट माथि उठाउने कार्य पुण्य कार्य भएको ओलीले बताउनुभयो । त्यो कार्य नेपालीले गर्न सक्ने उहाँले दाबी गर्नुभयो । ‘हामी गर्न सक्छौँ’, उहाँले भन्नुभयो ।
आफूले प्रधानमन्त्रीलाई पनि सरुवा, बढुवा, नियुक्त जस्ता काममा नअल्झिएर नीति निर्माणको काममा लाग्न सुझाव दिएको ओलीले बताउनुभयो । कुन क्षेत्रमा के कस्ता परिवर्तन र कदम आवश्यक छन्, त्यसमा छलफल गर्न र कार्यान्वयन गर्न आवश्यक रहेको ओलीको धारणा छ । ‘देशमा कृषि क्षेत्रमा अब पर्खने त समय नै छैन, गर्दै जाउँला भन्ने समय नै छैन, अहिले गर्नु पर्यो, आजै गर्नु पर्यो’, ओलीले भन्नुभयो ।