१४ चैत्र २०८२, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बाढीको त्रासमा भूजीखोलाका बाढीपीडित

प्रकाशित मिति :  4 July, 2024 3:29 pm


ढोरपाटन (बागलुङ) । चार वर्ष अगाडि भूजीखोलामा आएको बाढीमा परी आफन्त गुमाएका स्थानीय रातको समय अलि ठूलो वर्षा हुँदा राम्रोसँग निदाउन सक्दैनन् । विसं २०७७ भदौ १७ गते राति ढोरपाटन नगरपालिका–८ र ९ स्थित भूजीखोलामा आएको बाढीले ३८ जनाको ज्यान लिएको थियो । बाढीमा १५ जना अझै बेपत्ता छन् ।
पीडितले जसोतसो घर बनाएर बसे पनि बाढीको त्यो त्रास भने बिर्सिन सकेका छैनन् । बाढीले भूजीखोला किनारका एक सय ३१ घर बगाएको थियो । बाढीमा आफन्त गुमाएकाहरूको पीडा अहिलेसम्म पनि मत्थर हुनसकेको छैन । आफन्तसँगै बस्ने बास र खाने गास गुमाएकाले राज्यबाट पाउनुपर्ने सहयोग नपाएको गुनासो गर्दै आएका छन् ।
ढोरपाटन नगरपालिका–९ का बाढीपीडित कुलबहादुर विक ऋण धन गरेर घर बनाए पनि आफन्त बिर्सिन नसकेको बताउनुहुन्छ । बाढीले उहाँको घर, जग्गासहित २२ वर्षीय जेठो छोरो, २१ वर्षीया बुहारी, १८ वर्षीया छोरी र चार वर्षकी नातिनी बगाएको थियो । बाढीले भएभरको सम्पत्ति बगाइदिएपछि लामो समय आफन्तकामा बसेको भन्दै अहिले सामान्य घर बनाएर बस्न थालेको उहाँ सुनाउनुहुन्छ । अलि ठूलो वर्षा हुँदा रातभर जाग्रम बस्ने गरेको उहाँ बताउनुहुन्छ ।
“त्यो बाढीले हाम्रो उठीबास लगायो, लाउँलाउँ, खाउँखाउँ बन्ने बेलाका छोरा, बुहारी, छोरी र नातिनीसँगै सबै सम्पत्ति बगायो, हामी अहिले सुकुम्बासीजस्ता भएका छौँ । बर्खा सुरु भयो, कसरी ज्यान बचाउने हो भन्ने चिन्ता लाग्छ, ठूलो पानी पर्यो भने पहिलेको जस्तै बाढी आएर बगाउँछ कि भन्ने डर हुन्छ, त्यही भएर रातभरि निदाउँदैनौँ”, विकले भन्नुभयो, “बाढी आउँदाको रात हामीहरू गोठमा गएका थियौँ, त्यही भएर बच्यौँ, नत्र हामीलाई पनि बाढीले लैजानेरहेछ ।”
स्थानीय बाढीपीडित निमबहादुर विश्वकर्मा बाढीले आफन्तसहित भएभरको सम्पत्ति बगाइदिएको बताउनुहुन्छ । बाढीले निमबहादुरको २५ वर्षीया श्रीमती, नौ वर्षीय जेठो छोरा, दुई वर्षीय माइलो छोरा र २२ दिनको कान्छो छोरासहित सबै बगाएको थियो । उहाँ परिवारका सबै सदस्य बाढीमा परेरपछि एक्लो बन्नुभएको थियो । बाढी आउँदाको रात आफू ढोरपाटन गएको हुँदा आफ्नो ज्यान बँचेको उहाँ बताउनुहुन्छ । आफू ठूलो समस्यामा पर्दा पनि राज्य तहबाट सहयोग नभएको उहाँको गुनासो छ ।
ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत नगरपालिकाको सीमित स्रोत र साधानबाट पीडितलाई सहयोग गरिएको बताउनुहुन्छ । विसं २०७७ को बाढीले ढोरपाटनमा ठूलो मानवीय क्षति पुर्याएको भन्दै यस वर्ष पनि वर्षा सुरु हुन लागेसँगै प्राकृतिक विपत्तिबाट बच्न तटीय क्षेत्रका स्थानीयलाई सचेत रहन आग्रह गरिएको उहाँ बताउनुहुन्छ । भौगोलिक कठिनाइका कारण धेरै नागरिक अव्यवस्थित रूपमा बस्दै आएको हुँदा त्यसको व्यवस्थापनमा नगरपालिकाले योजना बनाइरहेको उपप्रमुख कायत बताउनुहुन्छ ।
-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !