प्रधानमन्त्री दाहालले दुषित खेल खेल्नुभयो : महेश वर्तौला

काठमाडौं । आजको प्रतिनिधि सभामा नेकपा एमालेले वर्तमान सरकारबाट बाहिरिएर कांग्रेससँग गरेको सहकार्यबारे संसदमा स्पष्टीकरण दिएको छ ।
आज बसेको प्रतिनिधिको बैठकमा विशेष समयमा बोल्दै एमालेका सांसद महेश बर्तौलाले प्रधानमन्त्रीले एमालेसँगै सरकारमा रहने तर अर्को दाउपेचको प्रकृयालाई सँगसँगै जोडिरहने दुषित खेल खेलेपछि एमाले सरकारबाट बाहिरिनु परेको बताउनु भएको छ ।
प्रधानमन्त्रीको चुलबुले स्वभाव र उथलपुथलको कार्यशैलीको मारमा एमाले परेको र सरकारभित्र रहँदारहँदै आफ्नो सहयात्री दललाई कमजोर बनाउने खेलमा लागेको महेश बर्तौलाले बताउनु भयो ।
‘प्रधानमन्त्री सदैव एमालेसँगै सरकारमा रहने तर अर्को दाउपेचको प्रकृयालाई सँगसँगै जोडिरहने त्यसप्रकारको दुषित खेलको निरन्तरतामा उहाँ आफैं सहभागी हुनुभयो । उहाँको चुलबुले स्वभाव, उथलपुथलको कार्यशैलीको मारमा हामी पर्ने आवस्था बन्यो । सरकारमै रहेको एमालेलाई एक्ल्याउने र कमजोर बनाउने प्रयास भयो । सरकारभित्र रहँदा रहँदै पनि सहयात्री दललाई कमजोर बनाउने प्रयास जारी रह्यो । त्यसैले हामी बाहिरियौं,’ उहाँले भन्नुभयो ।
बर्तौलाले आफूहरुलाई साथी चाहिरेको उल्लेख गर्दै त्यस क्रममा कांग्रेससँग भेट भएको बताउनु भयो । स्थिर सरकार दिनुपर्छ भनेर कांग्रेससँग सहमति भएको उहाँको भनाइ थियो ।
साथै बर्ताैलाले संसदभित्रै गायिका अन्जु पन्तको गीत गाँउदै प्रधानमन्त्री दाहाललाई सम्झिएका थिए । ‘तिम्ले पराइ ठानेपछि पराइ हुन के भयो र, तिम्रो मेरो बीचको नाता भन्नु पनि के रह्यो र ?’ भन्दै उहाँले दाहाललाई सम्झिएका हुन् ।
‘एमालेका मन्त्रीले राजीनामा बुझाउन जाँदा प्रधानमन्त्रीज्यूले फत्तेमानको गीत गाउनु भएको थियो– ‘यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले–कहिले, कसैलाई माया गर्नु एउटा भूल गरेँ मैलै,’ बर्तौलाले संसदमा भन्नुभयो , ‘म अञ्जु पन्तको गीत स्मरण गर्न चाहन्छु– तिम्ले पराइ ठानेपछि पराइ हुन के भयो र, तिम्रो मेरो बीचको नाता भन्नु पनि के रह्यो र ?’