गृह मन्त्री रवि लामिछानेसँग बोलेर सकिदैन- ज्ञानबहादुर शाही
काठमाडौं । प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले गृह मन्त्री रवि लामिछानेसँग बोलेर नसकिने बनाउनुभएको छ ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै शाहीले प्रधानमन्त्री र गृह मन्त्रीका कुरा सुन्दा देशको विकास कायापलट नै भइसकेको जस्तो लाग्ने बताउनुभयो । बोलेर केही नहुने बताउँदै शाहीले काम गरेर देखाउनु पर्ने बताउनुभयो । ‘उहाँले गिनिज बुकमा नै नाम लेखाउनु भएको हो बोल्ने कुरामा’, उहाँले भन्नुभयो ।
शाहीले जात जातिलाई भड्काएर आफ्नो रोटी सेक्ने काम संसद्को रोष्टमबाट नगर्न आग्रह गर्नुभयो । ‘हाम्रो जात एउटा मात्रै छ नेपाल, देश एउटै मात्र छ नेपाल, हामीले जात जातिलाई टुक्र्याएर राजनीति गर्नु छैन’, उहाँले भन्नुभयो ।
उहाँले प्रचण्डलाई फेरी जात जातिलाई भड्काएर नेपालीलाई मार्ने खेल नखेल्न आग्रह गर्नुभयो । १७ हजार मानिस मारेर आएको माओवादीलाई फेरी मान्छे मार्ने कुरा नगर्न उहाँले सुझाव दिनुभयो ।
उहाँले गृह मन्त्रीलाई फाइल खोलेर सरकार ढलेको भ्रम नफैल्याउन आग्रह गर्नुभयो । उहाँले गृह मन्त्रीलाई जीबी राईलाई किन पक्राउ नगरेको भनि प्रश्न गर्नुभयो । देशको उपप्रधानमन्त्री समाउँदा नढलेको सरकार बेचन झा र प्रतिक थापा जस्ता सामान्य मानिस पक्राउ गरेर सरका ढलेको भन्ने भ्रामक कुरा नगर्न उहाँले आग्रह गर्नुभयो । ‘एक जना मान्छे पक्राउ गरेको छैन फाइल खोलेर’, उहाँले भन्नुभयो
उहाँले सरकार फाइल खोलेको कारण नभई नेताहरूको बिचमा कुरा नमिलेको कारण ढलेको उहाँले स्पष्ट पार्नुभयो ।