पहिरो पीडित परिवारलाई सहयोग
प्रकाशित मिति : ३१ असार २०८१, सोमबार १७:१४
कास्की । जिल्ला प्रशासन कार्यालय कास्कीले यही असार २७ गते पहिरोमा परी मृत्यु भएकाहरुको परिवारलाई सहयोग प्रदान गरेको छ ।
पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटमा कुलबहादुर परियारको घर पहिरोमा पुरिँदा एकै परिवारका ६ सहित सात जनाको मृत्यु भएको थियो । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको नेतृत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारी घटनास्थलमा पुगेर सो रकम प्रदान गर्नुभएको हो ।
पहिरोमा परी मृत्यु भएका कुलबहादुर परियार, लक्षिमा परियार, मनकुमारी परियार र प्रश्ना परियारका परिवारलाई जिल्ला विपद् व्यवस्थापन कोषबाट रु पाँच लाख तथा गण्डकी प्रदेश सरकारबाट रु दुई लाख प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
पहिरोमा परेर कुलबहादुरका नाबालक छोरा पवन बाहेकका परिवारका अन्य सदस्यहरुको निधन भएकाले प्रदान गरिएको राहत रकम दुरुपयोग हुन नदिन उहाँको नाममा बैँक खाता खोलेर राख्ने व्यवस्था मिलाउन प्रजिअ पाण्डेले निर्देशन दिनुभयो । पहिरोले घर पूर्णरुपमा क्षति भएकाले आवास पुनःनिर्माण प्रक्रिया अघि बढाउन उहाँले वडा कार्यालयलाई निर्देशन दिनुभयो ।
यसैगरी सोही घटनामा परी मृत्यु भएका कुलबहादुरका बिबाहित छोरी प्रभा र ज्वाइँ अस्मित परियारको राहत रकम नजिकको हकदार आवश्यक कागजातसहित सम्पर्कमा आएपछि प्रदान गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
–रासस
0
Shares