१ चैत्र २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बाँकेका दुर्गम गाउँमा अझै भएन विद्युतीकरण

प्रकाशित मिति :  २ श्रावण २०८१, बुधबार १२:२६


नेपालगञ्ज । भारतको सीमा नजिक रहेका बाँकेका दुर्गम गाउँमा अझै पनि विद्युतीकरण हुन सकेको छैन ।
जिल्लाको राप्तीसोनारी–४ र १ को खयरभट्टीमा विद्युत् जडानका लागि स्थानीयले आग्रह गरेका छन् । सो क्षेत्रमा करिब चार सय ५० घरधुरीले विद्युत्को सुविधा नपाउँदा खानेपानी र सिँचाइको अभाव झेल्न बाध्य भएको स्थानीय प्रकाश नेपालीले जानकारी दिनुभयो ।
पहिले त हामीले खोलाको पानी नै खान्थ्यौँ तर पछिल्लो पटक केही घरमा धारा जडान भएको छ, खानेपानीको समस्या समाधान भएको छैन,” उहाँले भन्नुभयो । विद्युतीकरण भएपछि खोलामा बग्ने पानीको सदुपयोग गरेर खानेपानीको समस्या सधैँका लागि अन्त्य हुने उल्लेख गर्दै नेपालीले ठेकेदारको लापरबाहीले विद्युतीकरणको काम अघि बढ्न नसकेको बताउनुभयो ।
उहाँले काम गर्न लागेको एक वर्षमा पनि खम्बा गाड्ने र तार तान्ने काम अझै पूरा नभएको जानकारी दिँदै यसमा नेपाल विद्युत् प्राधिकरणले पनि ताकेता नगरेको आरोप लगाउनुभयो । उक्त क्षेत्रमा विद्युतीकरणका लागि पाँच सय ६० स्टिल ट्युबलर खम्बा खसालिएको र तीमध्ये तीन सय ६० मात्रै गाडिएको अवस्थामा रहेको स्थानीयको भनाइ छ । ठेकेदारको लापरबाहीका कारण अन्य खम्बा यत्रतत्र छरिएको अवस्थामा रहेका छन् ।
स्थानीय नेपालीले बस्ने ठाउँको खोजी गर्दै जाँदा रोल्पा, रुकुम, मुगु, सल्यान, जाजरकोट, प्यूठानलगायत जिल्लाबाट आएर त्यहाँ बसोबास गरेको जानकारी दिनुभयो । त्यहाँका स्थानीयको मुख्य आयस्रोत बाख्रापालन, कुखुरापालन र बनकसको डोरी बनाएर बेच्ने रहेको बताइएको छ । सो डोरी बेच्न स्थानीय भारतको बजारमा जाने गर्छन् । उक्त स्थानमा १५ वर्षदेखि स्थानीय बस्दै आएका छन् ।
लुम्बिनी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कृष्णा केसीले आफ्नो पहलमा नै विद्युतीकरणको प्रयास भएको जानकारी दिँदै उक्त योजना अधुरो योजना भएको बताउनुभयो । उहाँले भन्नुभयो, ठेक्का रद्द गरेर भए पनि विद्युत् प्राधिकरणले नै काम गर्नेगरी काम गर्छु ।
नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख इन्जिनियर जगन्नाथ लामिछानेले त्यस क्षेत्रमा ठेक्का लिएको कम्पनीलाई स्पष्टीकरण सोधिएको जानकारी दिँदै सम्बन्धित व्यक्ति सम्पर्कमा नआएको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्युत् कार्यालयले पत्राचार गरेको छ, जायज कारण पनि छैन र जवाफ चित्त बुझदो पनि छैन ।
उहाँले ठेकदारको लापरबाहीका कारण ठेक्का रद्द गर्नुपर्ने अवस्था आएको उल्लेख गर्दै त्यस क्षेत्रमा २४ किलोमिटरमा विद्युत् लाइन तान्नुपर्ने अवस्था रहेको जानकारी दिनुभयो ।  तीन करोड ५० लाख हाराहारीमा सो क्षेत्रमा विद्युतीकरणका लागि ठेक्का दिइएको थियो ।
–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !