२७ फाल्गुन २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

पर्या–पर्यटन प्रवर्द्धन गर्न सोभातालमा डुङ्गा सञ्चालन

प्रकाशित मिति :  ४ श्रावण २०८१, शुक्रबार १२:४३


कञ्चनपुर । पर्या–पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले बेलौरी नगरपालिका–५ सोभातालमा डुङ्गा (वाटर बोट) सञ्चालनमा ल्याइएको छ । पर्यटकीय क्षेत्र अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षितगरी नगरपालिकाले सङ्घीय सरकारको शसर्त अनुदानमा पाँच वटा डुङ्गा खरिद गरी सञ्चालनमा ल्याएको हो ।
सोही बजेटबाट पर्यटकीय क्षेत्रलाई थप आकर्षक बनाउन भगवान् गौतमबुद्धको मूर्ति पनि ल्याइएको छ । डुङ्गा सञ्चालनको जिम्मा सोभाताल संरक्षण समितिलाई दिइएको छ ।
आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन नगरपालिकाले सोभाताल पर्यटकीय क्षेत्रको आठ हेक्टर क्षेत्रफलमा रहेका पाँच वटा तालमध्ये दुईमा डुङ्गा सञ्चालन, दुईमा माछापालन र एउटामा स्वीमिङ पुल निर्माण गरिएको नगर उपप्रमुख जोगराम चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार तालमा वर्षभरि एकनासको पानी प्रवाहको व्यवस्था मिलाउन ताल क्षेत्रमा दुई वटा बोरिङ जडान गरिएका छन् ।
सोभातालको भौतिक पूर्वाधार विकासमा हालसम्म रु २५ करोडको खर्च भइसकेको नगर उपप्रमुख चौधरीले बताउनुभयो । उहाँका अनुसार पर्यटकको सुविधाका लागि ‘सेल्फी’ क्षेत्र, आकर्षक पखेटा, सभाहल, अतिथि गृह, पर्खाल, गेट, ठाउँठाउँमा विश्राम गर्न गोलघर, फुटपाथ, मनोरञ्जनात्मक तथा अन्य कार्यक्रम गर्न मञ्च निर्माण गरिएको छ ।
यसअघि यहाँ आउने पर्यटकलाई निःशुल्क प्रवेश गर्ने व्यवस्था गरिएको थियो”, उपप्रमुख चौधरीले भन्नुभयो, “पर्यटकीय क्षेत्रमा टिकट काउन्टरको व्यवस्था गरी प्रवेश तथा डुङ्गा सवार गरेको शुल्क लिने गरेका छौँ । पर्यटक र पर्यटकीय क्षेत्रको सुरक्षा गर्न कर्मचारी राख्ने योजनासहित प्रक्रिया अगाडि बढाएका छौँ ।” यस कार्यले पर्यटकीय क्षेत्रका भौतिक पूर्वाधारको सुरक्षा हुनुका साथै नगरपालिकाको आन्तरिक आयमा वृद्धि हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
सोभाताल संरक्षण समितिका अध्यक्ष जगदीश चौधरीले पर्यटकीय गतिविधिमा वृद्धि भएसँगै स्थानीय बासिन्दाको रोजगारीका अवसरमा समेत वृद्धि हुने बताउनुभयो । यहाँको व्यापार व्यवसाय फस्टाउँछ । रोजगारीका नयाँ अवसर सिर्जना हुन्छन्”, उहाँले भन्नुभयो, “पर्यटकीय गतिविधिले आयमा वृद्धि भई स्थानीयको जीवनस्तरमा सुधार ल्याउन सकिन्छ । पर्यटकीय क्षेत्रको व्यवस्थापनलाई थप प्रभावकारी बनाउन नगरपालिकासँग छलफल गरी योजनाबद्ध रुपमा अगाडि बढ्ने उहाँले उल्लेख गर्नुभयो ।
-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !