१२ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

डा.शेखर कोइरालाको नेतृत्व स्वीकार्य छ : सुजाता कोइराला

प्रकाशित मिति :  ४ श्रावण २०८१, शुक्रबार १७:०४


काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवम पूर्वमन्त्री सुजाता कोइरालाले कोइराला परिवार एकजुट भएर कांग्रेसलाई एकढिक्का बनाउनुपर्नेमा जोड दिनुभएकाे छ । शुक्रबार वालुवाटारस्थित डा. शेखर कोइरालाको सचिवालयमा पुगेर कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उहाँले डा.शेखरको नेतृत्व स्वीकार्ने बताउनुभयाे ।

‘देशको अवस्था गम्भीर छ । हामी एकजुट भएर अघि बढेनौं भने कांग्रेस रहँदैन, डेमोक्रेसी पनि रहँदैन र मुलुकपनि रहँदैन, हामी कोहीपनि रहँदैनौं । त्यसैले हामी कसैले केही त्याग गर्नैपर्छ,’ उहाँले अगाडि भनिन्,‘हामी कोइराला परिवारमा केही विवाद छैन् । शेखर दाले धेरै मेहेनत गरिरहनुभएको छ, नेतृत्व गरिरहनुभएको छ । उहाँको नेतृत्वलाई सबैले साथ दिनुपर्छ ।’

डा.शेखरको निमन्त्रणामा सचिवालयमा पुगेकी नेतृ कोइरालाले डा.शंशाकलाई पनि एकै ठाउँमा ल्याएर आफ्नो बुबा र हजुरबुबाहरुले देख्नुभएको सपना पूरा गर्नुपर्ने बताइन् । ‘डा.शंशाक पनि यहाँ आउनुपर्छ ।

हामी उहाँलाई ल्याएरै छाड्छौं । सबै मिलेर अघि बढौं, हामी कोहीबीच विवाद छैन । देशको निकासका लागि हामी एक ढिका हुनुपर्छ ।’

भेटघाटका क्रममा डा. शेखर कोइरालाले धेरै कार्यकर्ता र शुभेच्छुकहरुले कोइराला परिवार एकढिक्का भएको सन्देश दिनुपर्ने इच्छा रहेको सुनाउनुभयाे ।

‘कांग्रेसबीच एकता आवश्यक छ । गिरिजाबाबुले भन्दै आउनुभएको सहमति, सहकार्य र एकताको कुरा आज सान्दर्भिक छ,’ उहाँले अगाडि भन्नुभयाे,‘कोइराला परिवारमा सम्बन्ध कहिल्यै विग्रिएको छैन । तर कोहीबेला यताउता हुन्छ, त्यो सामान्य हो । आज सुजाताजी यहाँ आउनुभएको छ, त्यो एकताका लागि आउनुभएको हो । राष्ट्रियता, कांग्रेस र देशलाई बचाउन हामी एक ठाउँमा छौं,’ उहाँले भन्नुभयाे ।

आकस्मिक तय भएको भेलामा कांग्रेसका दर्जनौं कार्यकर्ता डा.कोइरालाको सचिवालयमा पुगेका थिए । १४औं महाधिवेशनमा तीनतिर विभाजित भएका डा.शेखर, डा.शंशाक र सुजताबीच १५औं महाधिवेशनमा एकढिक्का गराउन कार्यकर्ता तहबाट दबाब बढेको बताइन्छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !