बैतडीमा मकै र धानको उत्पादनमा बृद्धि
बैतडी । बैतडीमा यो वर्ष खाद्यबालीको उत्पादनमा वृद्धि भएको छ । गत वर्षभन्दा यो वर्ष धान र मकैको उत्पादन बढेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।
मुख्य खाद्यबालीका रूपमा रहेको मकै यो वर्ष २० हजार १सय ५९ मेट्रिक टन उत्पादन भएको छ । गत वर्ष मकै १९ हजार ७ सय ६४ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिनुभयो । जिल्लाको १२ हजार ३ सय हेक्टर क्षेत्रफलमा मकै खेती गरिन्छ ।
यस्तै यस वर्ष धानबाली उत्पादनमा पनि वृद्धि भएको छ । गत वर्ष १७ हजार १सय ९० मेट्रिक टन उत्पादन भएको धान यो वर्ष बढेर १८ हजार ४९ मेट्रिक टन पुगेको छ । । बैतडीको नौ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आएको छ ।
जिल्लाको सबैजसो ठाउँमा मकैखेती गरिन्छ भने पाटन, हाट, सलेना, सूर्नयालाई धानखेतीको पकेट क्षेत्रका रूपमा चिनिन्छ । यो वर्ष किसानले उन्नत जातको बिउको प्रयोग गरेकाले खाद्यबाली उत्पादन बढेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । योभन्दा पनि बढी उत्पादन हुने अपेक्षा गरिएको भए पनि जङ्गली जनावरका कारण केही कम उत्पादन भएको बताइएको छ ।
जिल्लामा यस वर्ष दलहन उत्पादनमाभने कमी आएको छ । खास गरेर भटमास र मासको उत्पादनमा कमी आएको हो । यो वर्ष भटमास १ हजार ३ सय ६५ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।
गत वर्ष भटमास १ हजार ४ सय ३३ मेट्रिक टन उत्पादन भएको थियो । बैतडीको १ हजार ३ सय ६५ हेक्टर क्षेत्रफलमा भटमास खेती गरिँदै आएको ज्ञान केन्दका निमित्त प्रमुख चन्दले जानकारी दिनुभयो ।
यस्तै यो वर्ष ३ सय १९ मेट्रिक टन मास उत्पादन भएका छन् । गत वर्ष ३ सय ५२ मेट्रिक टन मास उत्पादन भएको थियो । जिल्लाको ४ सय १० हेक्टर क्षेत्रफमा मास खेती गरिन्छ । यो वर्ष बढी वर्षा भएकाले दलहन उत्पादनमा कमी आएको निमित्त प्रमुख चन्दले बताउनुभयो ।
–रासस