ठूलोदुम्माको कन्यादह विस्कुट्ने क्षेत्रको संरक्षणमा जुट्दै स्थानीयवासी

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका ६ ठूलोदुम्मामा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र कन्यादह विस्कुट्ने डाँडाको संरक्षणमा स्थानीय जुटेका छन् । ऐतिहासिक क्षेत्र रहेकोले यहाँको विकास गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्राउने लक्ष्यले स्थानीयबासी स्वतस्फुर्त संरक्षणमा जुटेका हुन् ।
स्थानीयबासीको सकृयतामा यो डाँडामा रहेको ऐतिहासिक कन्यादह, मंगलबारे देवस्थलको संरक्षण भईरहेको छ । यो क्षेत्रको विकासमा जनस्तरबाट स्वतस्फुर्त रुपमा काम भईरहेको स्थानीयबासी सुगम राई बताउनुभयो । यहाँको कन्यादह तथा मंगलबारे देवस्थलमा दर्शन गरे मनोकाङक्षा पुरा हुने धार्मिक विस्वास रहेको राईले बताउनुभयो । यहाँको पुजाआजा राम्रोढंगले नभएमा गाउँमा नै नराम्रो अप्रिय घटना घट्ने उहाँको भनाइ छ ।
देश विदेशमा जादा आफ्नो काम पुरा होस् भन्ने कामनाले धेरैले यहाँको भाकल गर्ने स्थानीयबासी राईले बताउनुभयो । संरक्षण अभावमा ऐतिहासिक पवित्र क्षेत्र ओझेलमा परेकोले यसको संरक्षण तथा विकासमा जुटेको राईले जानकारी दिनुभयो । “यो क्षेत्रको निकै ठूलो ऐतिहासिक महत्व रहेको छ”उहाँले भन्नुभयो,“संरक्षण अभावमा यहाँका कतिपय संरचना नामिट हुने अवस्थामा पुगेका छन् । यो स्थानलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकासका गर्न स्थानीयबासी जुटेका छौँ ।अहिले कन्यादहको संरक्षणसँगै बृक्षरोपनको काम गरिरहेका छौँ ।”
ठुलोदुम्मा क्षेत्रमा रहेका आतबारे देवस्थल, सोमबारे देवस्थल र मंगलबारे देवस्थलको निकै ठूलो धार्मिक महत्व रहेको छ । यी क्षेत्रमा विभिन्न समयमा पुजाआजासँगै मेला महोत्सव लाग्ने उहाँले बताउनुभयो ।
मंगलबारे देवस्थल, कन्यादह, विस्कुट्ने डाँडा धार्मिकसँगै रमणिय पर्यटकीय क्षेत्र रहेकोले यहाँ धुपि, असोक, जामुन, आप, लिचीलगायतका विरुवा रोपनको काम भईरहेको स्थानीयबासीको भनाइ छ । ठुलोदुम्मा क्षेत्रमा आतबारे, सोमबारे र मंगलबारे गरी तीन वटा देवस्थल छन्” उहाँले भन्नुभयो,“यी धार्मिक क्षेत्रको आ–आफ्नै विषेशता रहेका छ । संरक्षण अभावमा मंगलबारे देवस्थलमा रहेका कन्यादह विस्कुट्ने डाँडा ओझेलमा रहेकोले संरक्षणमा हामी जुटेका हौँ ।
यो क्षेत्रको विकासका लागि वैदेशिक रोजगारीमा रहेका यहाँका युवाहरुले सहयोग पठाउने गरेको स्थानीयबासी हर्कराज राईले बताउनुभयो । हालसम्म स्थानीयको श्रमदान र विदेशमा रहेका युवाहरुको सहयोगबाट रु. चार लाख बराबरको काम गरिएको उहाँको भनाइ छ । यो क्षेत्रलाई संरक्षण गरेर देश विदेशमा चिनाउने योजनाका साथ काममा जुटेको उहाँले बताउनुभयो । “यो क्षेत्रको विकासमा हामी स्थानीयबासी जुटेका छौँ”उहाँले भन्नुभयो,“हालसम्म विदेशमा रहेका युवाहरुबाट सहयोग प्राप्त भईरहेको छ । विदेशमा रहेर पनि आफ्नो गाँस काटेर सहयोग गरिरहनु भएको छ । यो क्षेत्रको विकास गरेर देश विदेशमा चिनाउने लक्ष्यले संरक्षणको काम गरिरहेका छौँ ।”
स्थानीयस्तरमा केही काम गरेपछि मात्र राज्यको अन्य निकायमा सहयोगको लागि माग गर्ने योजना रहेको स्थानीयबासीको भनाइ छ । अहिले भने स्थानीयबासीले यहाँको विकासका लागि श्रमदानमार्फत काम गरिहेका छन् ।
यो क्षेत्रबाट कावा खोला फाँट, धनकुटा जिल्लाको छिन्ताङ, हतुवागढी क्षेत्र, हिले बजार तथा मौसम सफा भएको समयमा विभिन्न ठाउँको मनोरम दृश्य अवलोकन गर्न सकिने स्थानीयबासी संगम राईले बताउनुभयो । यहाँ आउने मानिसहरुलार्य प्राकृतिक सुन्दरताले लोभ्याउने उहाँको भनाइ छ ।
–रासस