२६ फाल्गुन २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बुबाको स्मृतिमा विद्यालयमा अक्षयकोष

प्रकाशित मिति :  ६ श्रावण २०८१, आईतवार १३:५२


तम्घास (गुल्मी) । गुल्मीमा बुबाको स्मृतिमा छोराहरुले एक विद्यालयमा अक्षयकोषको घोषणा गर्नुभएको छ ।
जिल्लाको रेसुङ्गा नगरपालिका–२ निवासी स्व हेमराज मरासिनीको स्मृतिमा छोरा नवीन, सञ्जीव र डा सञ्जयले रेसुङ्गा–१ मा रहेको महेन्द्र माध्यमिक विद्यालयमा रु तीन लाख १५ हजारको अक्षयकोषको स्थापना गर्नुभएको हो ।
स्व हेमराज विद्यालयको अङ्ग्रेजी शिक्षक हुनुहुन्थ्यो । उहाँको एक वर्षअघि निधन भएको थियो । बुबाको वार्षिक पुण्यतिथिका अवसरमा छोराहरुले बुबाले अध्यापन गराएको विद्यालयमा अक्षयकोषको स्थापना गर्नुभएको हो । विद्यालयलाई प्रदान गरेको रकमबाट कक्षा ५, ८, एसइई र कक्षा १२ मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने जनाइएको छ ।
अब छिट्टै कार्यविधि बनाएर उक्त रकम विद्यार्थीको छात्रवृत्तिका लागि प्रयोग गरिने विद्यालयले जनाएको छ । छात्रवृत्ति स्थापना गर्नेमध्येका जेठो छोरा नवीन मरासिनी काठमाडाँै विश्वविद्यालयमा अध्यापनरत हुनुहुन्छ । उहाँ पनि महेन्द्र माविका पूर्वशिक्षक हुनुहुन्छ । माइलो छोरा सञ्जीव मरासिनी नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतको रिडी संस्कृत विद्यापीठमा अङ्ग्रेजी विषयको उपप्राध्यापक हुनुहुन्छ भने कान्छो छोरा डा सञ्जय मरासिनी न्युजील्यान्डमा नेत्र विशेषज्ञका रुपमा कार्यरत हुनुहुन्छ ।
–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !