दमौली अस्पतालमा सर्पदंशको उपचार केन्द्र बनाइने
प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार १३:३३
दमौली (तनहुँ) । तनहुँको सदरमुकामस्थित दमौली अस्पतालमा सर्पदंशको उपचार केन्द्र सञ्चालन गरिने भएको छ । व्यास नगरपालिकाको सहयोगमा अस्पतालमा सर्पदंशको उपचार केन्द्र सञ्चालन गर्न लागिएको हो ।
सर्पले टोकेका बिरामीको उपचारका लागि जिल्लाभर नै उपचार केन्द्र नरहेकाले सदरमुकामको अस्पतालमा उपचार केन्द्र सञ्चालन गर्न लागिएको नगरपालिकाका प्रवक्ता जीवन गुरुङले जानकारी दिनुभयो । त्यसका लागि अस्पतालमा आवश्यक पूर्वाधारमा नगरपालिकाले सहयोग गर्नेछ ।
उहाँले भन्नुभयो, सर्पले टोकेका बिरामीको उपचारका लागि पोखरा, चितवन वा अन्यत्रै जानुपर्ने बाध्यता छ, दमौलीमा उपचार केन्द्र सञ्चालन गर्न सकिए सर्पदंशपीडितलाई राहत पुग्नेछ ।
दमौलीमा अस्पतालमा वार्षिक रुपमा करिब ५० जना सर्पदंशका बिरामी आउने गरेको र त्यस्ता बिरामीलाई पोखरा वा चितवन पठाउने गरिएको दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालले जानकारी दिनुभयो । यहाँ सर्पदंशका बिरामीलाई उपचार गर्ने सामग्री नभएकाले अन्यत्रै पठाउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।
-रासस
0
Shares