यस्तो छ कोशीमा कांग्रेस–एमालेको भागबण्डा
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबिच कोशी प्रदेशमा मन्त्रालयको भागबण्डा मिलेको छ ।
शनिवार काठमाडौंमा दुई दलबिच भएको वार्तामा मन्त्रालयको भागबण्डा मिलेको हो ।
सहमति अनुसार मन्त्रिपरिषदमा एमालेका मुख्यमन्त्रीसहित पाँच र कांग्रेसका ४ जना मन्त्री रहनेछन् । आठ मन्त्रालयमध्ये चार–चार वटा दुई दलले लिने भएका छन् ।
मन्त्रालय टुङ्गो लागेपछि सोमबार सरकार विस्तार गर्ने सहमति भएको छ । मन्त्रालयको विषयमा सहमति जुट्न नसक्दा एमालेका हिक्मत कार्की नेतृत्वको सरकारमा कांग्रेस सहभागी भएको छैन ।
छलफलमा नेपाली कांग्रेसले सरकारको नेतृत्व पनि आलोपालो गर्नुपर्ने प्रस्ताव गरेको थियो । तर सो विषय प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले टुङ्ग्याउने सहमति भएको छ ।
संसदीय समितिको नेतृत्वमा पनि दुई दल बिच भागबन्डा मिलेको छ । सातवटा विषयगत समितिमध्ये एउटा समिति प्रतिपक्षी दललाई छाडेर बाँकी तीन–तीन वटा दुई दलले लिने भएका छन् । सार्वजनिक लेखा समिति प्रतिपक्षी दललाई दिने प्रचलन अनुसार माओवादीलाई दिने र बाँकी समितिको नेतृत्व बाँडफाँड गर्ने सहमति भएको छ ।