११ मंसिर २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

बागमतीका मुख्यमन्त्री लामाले साउन १५ मा विश्वासको मत लिने

प्रकाशित मिति :  १३ श्रावण २०८१, आईतवार १६:०८


हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले साउन १५ मा विश्वासको मत लिने भएका छन् ।

एमाले–कांग्रेस गठबन्धनबाट प्रदेश सरकारको नेतृत्व गरेका मुख्यमन्त्री लामाले साउन १५ गते विश्वासको मत लिन प्रदेशसभा सचिवालयलाई जानकारी गराएसँगै प्रदेश सभाका सभामुखले बैठक आव्हान गरेका हुन् ।

साउन ८ मा मुख्यमन्त्री नियुक्त भएका लामाले ३० दिन भित्र प्रदेश सभाबाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था रहेको छ । सोही अनुसार मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गराएका छन् ।

उहाँको पत्र अनुसार प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले साउन १५ गते दिउँसो ३ बजेका लागि संसद बैठक आव्हान गरेका छन् ।

मुख्यमन्त्री लामाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका हुन् ।

साउन १२ मा एक बिना विभागीय मन्त्रीसहित सरकारलाई पूर्णता दिएका मुख्यमन्त्री लामालाई एमालेका २७ र कांग्रेसका ३७ प्रदेश सभा सदस्य गरी ६४ जनाको समर्थन रहेको छ । पहिलो पटक कांग्रेसबाट सरकारको नेतृत्व लिएका लामाले एमालेका ६ र कांग्रेसका ६ जनालाई मन्त्री नियुक्त गरेका छन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !