पोखरामा स्कुल बस दुर्घटना : ज्यान जानेकाे सङ्ख्या दुई पुग्यो
प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार १४:५९
काठमाडौं । पोखरामा सोमबार बिहान भएको स्कुल बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ ।
सोमबार बिहान पोखरा–२१ रामदीबाट विद्यार्थी बोकेर पोखरा–१७ बिरौटामा रहेको एलपी देवकोटा विद्यालयतर्फ आउँदै गरेको सो विद्यालयको ग १ ख ६२१९ नं बस दुर्घटनामा परेको थियो । मट्टिखान जाने सडकको थुन्कु भन्ने ठाउँमा दुर्घटनामा भएको थियो । दुर्घटनामा विद्यालयकी सहयोगी ३३ वर्षीय आरती विकको घटनास्थलमा नै ज्यान गएको थियो भने उहाँका छोरा पाँच वर्षीय प्रिन्स विकको उपचारको क्रममा ज्यान गएको छ ।
बसमा सवार २८ जना विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये १४ जनाको जिएमसी अस्पतालमा, १२ जनाको गण्डकी अस्पतालमा र दुई जनाको मणिपाल शिक्षण अस्पतालमामा उपचार भइरहेको छ ।
घुम्ती पार गर्ने क्रममा बस सडकदेखि करिब ६० मिटर तल खसेको थियो ।
0
Shares