आफ्नै घरमा काम गर्नेबाट पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको खुलासा
काठमाडौं । विश्वास कसको गर्नु ? आफन्त, सहयोगी वा आफ्नै घरमा एउटै भाँडाको भात खाएर बस्ने, आफैले संरक्षण गरेर खोको व्यक्तिको ?
अहँ विश्वास कसैको नहुने रहेछ । आफूसँगै रहेका, आफैले संरक्षण गरेका आफ्नै सहयोगी पनि कसैको प्रलोभनमा फसे भने आफ्नै ज्यान लिन पछि नपर्ने रहेछन् । यस्तै आफ्ना सहयोगीको विश्वास गर्दा पूर्वराज्यमन्त्री रामचन्द्र रायको ज्यान गयो । रायको आफ्नै घरमा काम गर्ने सहयोगीले ज्यान लिएको प्रहरी अनुसन्धानले देखाएको छ । तथापि अदालतले मुद्दाको फैसला गर्न बाँकी नै छ ।
रायको घरमा काम गर्ने कामदार रामउजैन रायले जम्मा २ लाख रुपैँया लिएर ज्यान लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । छिमेकी वीरेन्द्र राय यादवबाट २ लाख रुपैयाँ लिएर उनले रायको हत्या गरेको प्रहरीले जनाएको छ ।
सर्लाहीको चन्द्रपुर नगरपालिका–१ रत्नपुरस्थित आफ्नै घरमा गत साउन ६ गते राति ८० वर्षीय रायको हत्या गरेको अवस्थामा शव फेला परेको थियो । आफ्नै घरमा काम गर्ने २५ वर्षीय रामउजैनले धारिलो हतियार प्रहार गरी रायको हत्या गरेको अनुसन्धानबाट खुलेको सर्लाही प्रहरीले जनाएको छ ।
रामउजैनलाई प्रहरीले घटनाको भोलिपल्ट बिहानै पक्राउ गरेको थियो । उनको बयानको आधारमा ४६ वर्षीय वीरेन्द्रलाई समेत पक्राउ गरी प्रहरीले बयान लिएर उनीहरू दुवै जनालाई सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले पूर्व राज्यमन्त्री रायको हत्या जग्गा सम्बन्धी विवाद र आर्थिक प्रलोभनका कारण भएको खुल्न आएको जानकारी दिनुभएको छ । छिमेकीसँगको जग्गा विवाद र आफ्नै घरमा काम गर्ने मान्छे प्रलोभनमा फस्दा घटना भएको प्रहरी अनुसन्धानले देखाएको छ । हत्या गर्न वीरेन्द्रले रामउजैनलाई व्यवसायको लागि एउटा फर्म बनाई दिन्छु भन्ने आश्वासन र नगद २ लाख रुपैँया दिइएको खुलेको प्रहरीले जनाएको छ ।