रोल्पामा पहिरोले घर पुर्दा एकै परिवारको दुई जनाको ज्यान गयो
काठमाडौं । रोल्पामा पहिरोले घर पुरिदा एकै परिवारको दुई जनाको ज्यान गएको छ ।
शुक्रबार साँझ सुनछहरी गाउँपालिका–४ कामी डाँडामा पहिरो जाँदा देवसिंह कामीको घर पहिरोले पुरेको थियो । पहिरोले पुरिएर ७० वर्षीया हजुरआमा बासुना सुनार र ४ वर्षीया नातिनी माया सुनार बेपत्ता हुनुभएको थियो । आज बिहान प्रहरी र स्थानीयले खाजी गर्दा दुवै जनाको शव फेला परेको वडा सदस्य जगबहादुर विकले जानकारी दिनुभयो ।
शुक्रबार साँझ ८ बजेतिर नै पहिरो गएको भए पनि राति उद्धारमा जान सक्ने अवस्था नभएको कारण बिहान ५ बजेबाट मात्र खोजी गरिएको विकले बताउनुभयो । खोजीको क्रममा दुवै शव बिहान ८ बजेतिर फेल परेका उहाँले बताउनुभयो ।
साँझ टर्चमा राख्ने ब्याट्री किन्नको लागि देवसिंह नजिकैको पसलमा जानु भएको थियो । पसलबाट फर्कँदा घर बगाएको र घरमा रहेका नातिनी तथा हजुरआमा दुवैलाई पहिरोले पुरेको थियो । देवसिंहकी पत्नीले भने गत वर्ष अर्कैसँग विवाह गर्नुभएको थियो ।