१२ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रतिबद्धता अनुसार सडकको काम नभएपछि खाँडादेवीवासी आन्दोलनको तयारीमा

प्रकाशित मिति :  २८ श्रावण २०८१, सोमबार ११:१०


रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाका दुईवटा सडकको काम प्रतिबद्धता अनुसार अघि नबढाएपछि स्थानीयवासी आन्दोलनको तयारीमा जुटेका छन् ।

जिल्ला सदरमुकाम मन्थलीबाट गाल्पा हुँदै चौँरीखोलासम्म जाने सडकको सिकारीडाँडा–गोगनपानी–गाल्पा सडक र काठमाडौंबाट सित्खा हुँदै भोटनागी जाने सडकको गोगनपानी–धुले–भोटनागी सडकको कालो पत्रे गर्ने काम निर्माण व्यवसायीले गरेको सहमति अनुसार सुरु नगरेको भन्दै स्थानीयले आन्दोलित हुन लागेका हुन् । रामेछापका कैलाशप्रसाद ढुङ्गेल वाग्मती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री हुँदा ती दुईवटै सडकको कालोपत्रे गर्ने काम सुरु भएको थियो । मन्थली–गाल्पा सडकको पहिलो चरणमा पकरबास सिकारीडाँडासम्म र सित्खा–भोटनागी सडकको पहिलो चरणमा गोगनपानीसम्म कालोपत्रेको काम सम्पन्न भएको थियो ।

क्रमागत योजना अन्तर्गत दुवै सडकको बाँकी खण्ड पिच गर्नको टेण्डर लागेको भए पनि निर्माण व्यवसायीको लापरबाहीको कारण ती सडकका काम सम्पन्न हुन सकेका छैनन् । सम्झौता गरेको १८ महिना भित्र कालोपत्रे  गरी बुझाउनु पर्ने सडक साँढे ३ वर्षसम्म पनि  पुरा नगरी निर्माण व्यवसायीले अलपत्र पारेका भन्दै स्थानीयलाई आन्दोलनको तयारीमा रहन नेकपा एमाले खाँडादेवी गाउँपालिका अध्यक्ष मोतीलाल तामाङले आग्रह गर्नुभएको छ । ‘निर्माण व्यवसायीको चरम लापरबाही, ढिलासुस्ती र  पूर्वाधार विकास  कार्यालय मन्थलीको गैरजिम्मेवारिपनको कारण आज खाँडादेवी, सुनापती र दोरम्बा शैलुङ गाउँपालिकाका हजारौँ जनताहरूले जुन प्रकारको कालोपत्रे  सडकमा यात्रा गरेर सुविधा पाउनु पर्ने  थियो  त्यो केवल सपनामा मात्र सीमित भएको छ’, तामाङले भन्नुभयो ।

निर्धारित समयमा काम नहुँदा नागरिकले यात्राको क्रममा सास्ती भोगेको भन्दै गएको जेठ ८ गते खाँडादेवी गाउँपालिका उपाध्यक्ष रमा घिसिङ लगायतका जनप्रतिनिधि, राजनीतिक दलका नेताहरू, स्थानीले जिल्ला प्राविधिक कार्यालय मन्थलीमा ताला समेत लगाएका थिए । त्यस पछि  जेठ ९ गते खाँडादेवी गाउँपालिकाको कार्यालयमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, पूर्वदार विकास कार्यालय मन्थलीका प्रमुख, प्राविधिकहरू, वडाध्यक्ष लगायत जनप्रतिनिधि, राजनीतिक दलका नेताहरू, दुईवटै सडकका निर्माण व्यवसायी बिच बैठक बसी थप भएको अन्तिम म्यादसम्म काम पुरा गर्ने लिखित सहमति भएको थियो ।

निर्माण व्यवसायीले काम गर्ने प्रतिबद्धता जनाएका भए पनि काम अघि बढाएका छैनन् । ‘त्यस बेला  गरेका  सबै लिखित प्रतिबद्धताहरू कागजको पन्नामा मात्र सीमित गरे, निर्माण व्यवसायीले कार्यान्वयन नै गरेनन्’, तामाङले भन्नुभयो ।

सित्खा–गोगनपानी–धुलेबेसी–भोटनागी सडक पिच गर्नुपर्न पछिल्लो तोकिएको  म्याद असोज मसान्तसम्म रहेको र सोही समय भित्रै  कालोपत्रे  सडक निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता निर्माण व्यवसायी र जिल्ला पूर्वाधार विकास कार्यालयले गरेका थिए । वर्षाको समयमा सडकमा सबबेस बिछ्याइ आवागमनमा सहज बनाउने सहमति भएको थियो । तर सहमति अनुसार निर्माण व्यवसायीबाट काम भएन ।

गोगनपानी–गाल्पा सडक पिच गर्ने अन्तिम म्याद गएको असार मसान्तसम्म मात्र भएकोले तोकिएको समय भित्र काम सम्पन्न गर्न निर्माण व्यवसायी सहमत भएका थिए । सो सडकमा तीन दिन भित्रै सबबेस बिछ्याउने कार्य अगाडी बढाउने, जनशक्ति बढाएर  ड्रेनको बाँकी काम छिटो सम्पन्न गराउने तथा सडक पिचको कामलाई पनि अघि बढाउने सहमति भएको थियो । तर निर्माण व्यवसायीले सहमति पछि कुनै पनि काम गरेका छैनन् ।

कूल १० किलोमिटर लामो पकरबास–गोगनपानी–गाल्वा सडक कालोपत्रे गर्ने जिम्मा दिवा/ओमबुद्ध/अर्याल कन्ट्रक्सनले ४३ करोड रुपैँयामा लिएको थियो ।

त्यस्तै ७.५ किलोमिटर लामो गोगनपानी–धुलेबेसी–भोटनागी सडक निर्माणको जिम्मा १७ करोड रुपैँयामा रौताहा/सगुन/पाँच पोखरी कन्ट्रक्सनले लिएको थियो । दुवै सडक १८ महिना भित्र काम पुरा गर्ने गरी २०७८ सलमा ठेक्का सम्झौता भएका थिए ।

निर्माण व्यवसायी र कार्यालयले कागज गरेका भए पनि कार्यान्वयनमा नल्याएकाले भदौ महिनाको पहिला हप्ताबाट सडक संघर्षमा उत्रिने स्थानीयले बताएका छन् । निर्माणको काम अघि नबढेसम्म चरणबद्ध रूपमा सडक संघर्षका कार्यक्रम सञ्चालन गरिने उनीहरूले चेतावनी दिएका छन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !