२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अर्थतन्त्र सुधारको लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन हुने

प्रकाशित मिति :  ३२ श्रावण २०८१, शुक्रबार १३:०७


काठमाडौं । अर्थ मन्त्रालयले एक सय दिनमा गर्ने दिनको कार्ययोजना तयार पारेको छ ।

कार्ययोजनामा मुलुकको समग्र अर्थतन्त्र सुधारको लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने प्रस्ताव गरिएको छ । मन्त्रालयले वित्तीय क्षेत्र विकास रणनीति तयार गर्ने, राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रुत गस्ती टोली गठन गरी परिचालन गर्ने कार्ययोजना बनाएको छ ।

मन्त्रालयले आन्तरिक राजस्व परिचालन रणनीति २०८१ कार्यान्वयन सुरु गर्ने भएको छ । भन्सार मूल्याङ्कनलाई कारोबार मूल्यमा आधारित बनाउन रणनीति तयार गरी लागू गर्ने पनि कार्ययोजनामा उल्लेख छ । भन्सार महसुल नियमावली २०८१ तर्जुमा गर्ने, गत आर्थिक वर्षमा विधि सम्मत रूपमा सिर्जित दायित्व यकिन गरी भुक्तानी गर्ने पनि कार्ययोजना छ ।

कार्ययोजनामा उपभोक्ताले डिजिटल माध्यमबाट गरेको खरिदको भुक्तानीमा १० प्रतिशत मूल्य अभिवृद्धि कर फिर्ता दिने कार्य प्रारम्भ गर्ने उल्लेख छ । नागरिक बचत पत्र र वैदेशिक रोजगार बचत पत्रको अभौतिकीकरण गर्ने योजना पनि मन्त्रालयले बनाएको छ ।

सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने कार्यविधि २०८१ तयार पारी लागू गर्ने, बहुवर्षीय ठेक्काका लागि अर्थ मन्त्रालयबाट भएको स्रोत सहमति, विषयगत मन्त्रालय÷ निकायले लगाएको ठेक्का र तिर्नुपर्ने बाँकी दायित्वको विवरण यकिन गर्ने पनि कार्ययोजनामा उल्लेख छ ।

वार्षिक २५ करोड रुपैँया भन्दा बढीको कारोबार गर्ने थप २ सय करदाताको कारोबारलाई केन्द्रीय बीजक अनुगमन प्रणालीमा आबद्ध गर्ने, तातोपानी भन्सार कार्यालयमा लगेज तथा भेहिकल स्क्यानर मेसिनको प्रयोग सुरु गर्ने लगायत कार्ययोजना मन्त्रालयले बनाएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !