आज ऋषि तर्पणी : रक्षा बन्धन गरिँदै

काठमाडौं । आज ऋषि तर्पणी । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वलाई आज रक्षा बन्धन गरेर मनाइँदै छ ।
आज नयाँ जनै फेर्ने तथा रक्षा बन्धन धारण गर्ने गरिन्छ । आजका दिन बिहानैदेखि नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षा बन्धन तथा जनै धारण गर्ने गरिन्छ । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रण गरिएको रक्षा बन्धन र जनै धारण गर्ने परम्परा रहेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार सर्वसाधारणले बिहानदेखि नै रक्षा बन्धन गर्न सक्ने छन् । मुलुकका विशिष्ट व्यक्तिले मात्र भद्रा कटाइ दिनको १ः३१ बजेपछि रक्षा बन्धनको कर्म गर्नु राम्रो हुने बताइएको छ ।
आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधिदिने प्रचलन पनि छ । यसबाट दिदीबहिनी र दाजुभाइबीच प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।
आज रसुवाको गोसाईंकुण्ड, रामेछापको जटापोखरी, सिन्धुपाल्चोकको पाँचपोखरी, ललितपुरको कुम्भेश्वर, काठमाडौँको मणिचूड, धनुषाको जनकपुरधाम, धनुषसागर, गङ्गासागर लगायतका पोखरीहरू, चितवनको देवघाट लगायतका देशै भरका ताल, पोखरी तथा शिव मन्दिरमा मेला लाग्ने गर्दछ ।
आजको दिन गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । क्वाँटी बनाइ खानाले खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो हट्ने बताइन्छ ।