१२ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

खानेपानीका साना मुहान संरक्षण गर्दै भिरपानीको वडा कार्यालय

प्रकाशित मिति :  ९ भाद्र २०८१, आईतवार १२:५९


रामेछाप । खाँडादेवी गाउँपालिका–३ नं वडा कार्यालय भिरपानी खानेपानीको मुहान संरक्षणमा जुटेको छ ।

वडा कार्यालयले वडा भित्र रहेका खानेपानीको मुहान संरक्षण, पुराना आहाल संरक्षणको काम गरिरहेको छ । त्यस्तै गाउँपालिकाले पनि सो वडामा नयाँ पोखरी निर्माणको काम गरेको छ ।

खाँडादेवी ३ को भिरपानी, लाप्का, आँपचौर लगायतका क्षेत्रमा रहेको पुराना खानेपानीका मुहान संरक्षण तथा पानी संकलनको काम वडा कार्यालय मार्फत भएका छन् ।

लाप्कामा रहेको खानेपानीको मुहानमा रिजर्भ ट्याङ्की निर्माण गरी पानी संरक्षण गर्ने काम गरिएको छ । लिफ्ट खानेपानीमा समस्या आउँदा स्थानीयलाई सो ट्याङ्कीको पानी उपयोग गर्न सहज होस् भनी पानी संरक्षणको काम गरिएको वडाध्यक्ष पुष्करकुमार कार्की बताउनुहुन्छ ।

त्यस्तै आँपचौरमा रहेको मूल धारोलाई मर्मत गरी चिटिक्क बनाइएको छ । पहिला गाउँभरिका मानिसहरूले पानी खाने सो धारो घर घरमा पानीका धारा पुगेपछि संरक्षण हुन सकेको थिएन । अहिले वडा कार्यालयले नयाँ धारो राखेर मर्मत सुधार गरेको छ ।

मूल धाराको पानी अत्यन्त स्वादिलो भएकोले अहिले पनि गाउँका मानिसहरू खाने पानी भर्न आउने स्थानीय नन्दकुमारी खत्री बताउनुहुन्छ । ‘यो हाम्रो पुर्खाहरूको पालादेखिको धारो हो, यो धाराको पानी खाएपछि भोक लागेको बेला पनि एक पटक अघाइन्छ, अरू कामको लागि घरको धाराको पानी प्रयोग गरे पनि खाने पानी भने यही धारमा लिन आउँछु, म मात्रै होइन अरू गाउँले पनि आउँछन्’, खत्रीले भन्नुभयो ।

वातावरण परिवर्तनको कारण खानेपानीका साना मुहान सुकेर पानीको सङ्कट भएपछि अहिले गाउँमा सुनकोसीबाट लिफ्ट गरेको पानीबाट घर घरमा धारा वितरण गरिएका छन् । तथापि गाउँमा भएका साना मुहान तथा आहालको संरक्षणमा पनि त्यतिकै ध्यान दिएको वडाध्यक्ष कार्की बताउनुहुन्छ । ‘लिफ्ट गरेको पानी कुनै दिन मेसिन बिग्रियो भने बन्द हुनसक्छ, त्यसैले गाउँका साना मुहानहरूलाई संरक्षण गर्दै आएका छौँ’, कार्कीले भन्नुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !