रामेछापको दोरम्बा शैलुङ लेखर्कको पहिरो : बेपत्ता एक महिलाको पैताला भेटियो
रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको लेखर्क पहिरोमा परि बेपत्ता मध्ये एक महिलाको बायाँ खुट्टाको पैताला भेटिएको छ ।
गत शनिवार राति लेक खर्क पहिरोमा बेपत्ता रहेका तीन जना मध्ये २३ वर्षकी बिन्दा पहरीको बायाँ खुट्टाको गोली गाँठा मुनिको पैताला जिल्लाको सुनापति गाउँपालिका–४ खानि खोलो किनारमा मङ्गलवार भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । रातो नङ पालिस लगाएको महिलाको जस्तो देखिने बायाँ खुट्टाको गोली गाँठा मुनिको पैतालाको भाग फेला परेपछि बिन्दाकी श्रीमा कुमार पहरीले खुट्टाको बुढी औला बाङ्गो र रातो नङ पालिसको आधारमा सनाखत गरेको प्रहरीले जनाएको छ । गोडाको पैताला फेरा परेपछि बिन्दाको पनि सोही पहिरोमा पुरिएर ज्यान गएको पुष्टि भएको छ ।
योसँगै लेखर्क पहिरोमा पुरिएर ज्यान गुमाउनेको सङ्ख्या आठ पुगेको छ । अझै दुई जनाको अवस्था अज्ञात छ । ५५ वर्षका काले पहरी, ५० वर्षकी झ्याउँकिरी पहरीको पत्तो लाग्न सकेको छैन बिन्दाको शरीरको अन्य भागको पनि खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
गत शनिवार रातिको अविरल वर्षापछि दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुर स्थित लेखर्कको पहरी बस्ती बगाउँदा ११ जना पहिरोमा पुरिएका थिए । जसमध्ये आइतबार बिहान एक जनाको जीवितै उद्धार गरिएको थियो भने ६ जनाको शव निकालिएको थियो । सो दिन ३२ वर्षकी चण्डिका थापा मगर र उहाँका १८ महिनाका छोरा आयुष श्रेष्ठ, ५७ वर्षीय उर्मिला पहरी, ३० वर्षका सन्दीप पहरी, १४ वर्षका सन्तोष पहरी र ११ वर्षका विज्ञान पहरीको शव निकालिएको थियो ।
सोमबार दिउँसो ७५ वर्षीया पुड्की पहरीको शव भेटिएको थियो ।