बोलेरो दुर्घटनामा मन्थली–४ की वडा सदस्य पदममाया नेपालीको ज्यान गयो
रामेछाप । रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीमा आइबार दिउँसो बोलेरो जिप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।
आइतबार दिउँसो मन्थलीबाट सालु जाँदै गरेको बा १८ च १८३९ को डवल क्याप बलेरो सुनारपानीको भित्री सडक खण्डमा सडकबाट खस्दा मन्थली नगरपालिका–४ सालुकी वडा सदस्य ६० वर्षकी पदममाया नेपालीको ज्यान गएको प्रहरीले जनाएको छ ।
एक बच्चा सहित सात जना यात्रु लिएर गएको जिप सडकबाट १ सय ५० मिटर तल खसेको थियो । दुर्घटनामा अन्य ६ जना यात्रु घाइते भएका प्रहरीले जनाएको छ ।
घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । गाडी चालक मन्थली–४ का ४० वर्षीय गुनबहादुर थापा मगर र सोही स्थानका दिलीपकुमार बरुवालको अवस्था गम्भीर छ । अन्य चार जनाको अवस्था भने सामान्य रहेको छ ।
घाइतेहरूको मन्थली अस्पताल र मन्थली सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । मृतकको शव पोष्टमार्टमका लागि मन्थली अस्पतालमा राखिएको छ ।