२७ आश्विन २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

हेटाैंडामा जमेको पानीमा टेक्दा करेन्ट लाग्याे, दुई बालिकाको ज्यान गयाे

प्रकाशित मिति :  २६ आश्विन २०८१, शनिबार १८:००


वाग्मती । करेन्ट लागेर मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१६ चिसापानीमा दुई बालिकाको ज्यान गएकाे छ ।

ज्यान गुमाउनेमा बाराको निजगढ नगरपालिका-१ की ९ वर्षीया र हेटौंडा-१६ की ७ वर्षीया बालिका रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्याम अर्यालले जानकारी दिनुभयो ।

चिसापानी पश्चिम दक्षिणस्थित कभर्ड हल छेउमा जडान गरिएको ११ केभी ‘पिन इन्सुलेटर’ भाँचिन गई नजिकै रहेको फलामको पोलमा सर्ट हुँदा पोलको फेदमा जमेको पानीमा विद्युत् प्रवाह भएको थियो । उक्त पानीमा प्रवाह भएको करेन्ट लागेर उनीहरुकाे ज्यान गएकाे हाे ।

सँगै हिँडिरहेका दुवै बालिकाले अचानक जमेको पानीमा टेक्न पुग्दा करेन्ट लागेर बेहोस भएका थिए । बेहोस भएका दुवै बालिकालाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएकामा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो ।

मृतक दुवै नाबालिका रहेकाले नाम थर गोप्य राखिएको उहाँको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

– रासस


113
Shares

प्रतिक्रिया दिनुहोस !