रविको भनिएकाे भाइरल तस्विरबारे बाेल्याे कास्की प्रहरी, दाेषीलाई कारबाही गर्ने
काठमाडौं । हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तस्विर सार्वजनिक भएको भन्ने विषयमा गम्भीर ध्यानाकर्षण भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ती शुद्धिकरणसम्बन्धी कसुरकाे तथ्यपूर्ण अनुसन्धानलाई समेत नकारात्मक प्रभाव पार्ने गरी डा. निकोलस भुसालको फेसबुक पेजबाट प्रकाशित भई प्रहरीको व्यावसायिकतामा आँच आउने किसिमले विभिन्न सामाजिक सञ्जालमा सम्प्रेषण भएको अनधिकृत तस्विरप्रति गम्भीर ध्यानाकर्षण भएको कार्यालयका प्रवक्ता डीएसपी बसन्त कुमार शर्माले बिहीबार निकाल्नुभएकाे विज्ञप्तिमा उल्लेख छ ।
सार्वजनिक भएकाे लामिछानेकाे भनिएकाे भाइरल तस्विरबारे भने कास्की प्रहरीले विज्ञप्तिमा राम्राेसँग खुलाएकाे छैन । तर घुमाउराे तरिकाले भने स्वीकार गरेकाे छ ।
तस्विर सार्वजनिक गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता कास्की प्रहरीले जनाएकाे छ । ‘सूचनाकाे हक सम्बन्धी एेन, २०६४ मा व्यवस्था भएबमाेजिम अपराध अनुनसन्धान तहकिकात तथा अभियाेजनमा गोपनियता कायम गर्नुपर्ने व्यवस्था र प्रचलित साइबर अपराधसम्बन्धी कानुनी प्रावधानलाई समेत उल्लंघन गरी अनधिकृत रुपमा सामग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जाेकाेही व्यक्तिलाई पनि कानुनी दायरामा ल्याइ कानुन बमाेजिम अनुसन्धान तथा कारबाही गरिनेछ’- विज्ञप्तिमा उल्लेख छ ।
गोपनियता कायम राख्नुपर्ने विषयमा संवेदनशील रही सूचना र समाचार सम्प्रेषण गरी अनुसन्धान कार्यमा सहयोग गर्न पनि कास्की प्रहरीले सबैमा अपिल गरेकाे छ ।