१८ पुष २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सुनसरीमा घट्दै गहुँखेती, बढ्दै मकैखेती

प्रकाशित मिति :  ६ पुष २०८१, शनिबार ११:२३


इनरूवा ।  सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–६ का नगेन्द्रकुमार साह पहिले एक बिघा १० कट्ठामा गहुँखेती गर्नुहुन्थ्यो । उहाँले रू एक लाखदेखि एक लाख ५० हजारको लागतमा एक बिघा १० कट्ठामा गहुँखेती गर्दै आउनुभएको थियो । उहाँले गहुँखतीबाट वार्षिकरूपमा १० क्विन्टलदेखि १५ क्विन्टलसम्म उत्पादन हुँदै आएको थियो । उहाँलाई गहुँबाट वार्षिकरूपमा रू ७२ हजार आम्दानी हुँदै आएको थियो ।

पछिल्लो समय साह गहुँखेती छोडेर मकैखेती गर्नका लागि सुरू गर्नुभएको छ । उहाँले अहिले एक बिघा १० कट्ठा खेतमा मकैखेती गरेको जानकारी दिनुभयो । रू एक लाखदेखि एक लाख ५० हजारको लगानीमा गरेको मकैखेतीबाट रू चार लाखसम्म आम्दानी गर्ने लक्ष्यका साथ एक बिघा १० कट्ठामा मकैखेती गरेको उहाँले जानकारी दिनुभयो ।

मकैखेतीबाट वार्षिकरूपमा एक सयदेखि एक सय २० क्विन्टलसम्म उत्पादन गरेर वार्षिकरूपमा रू चार लाख आम्दानी हुने गरेका कारणले पछिल्लो समय मकैखेतीतर्फ आकर्षित भएको साहले बताउनुभयो ।

गहुँखेतीमा कम उत्पादन हुने र कम आम्दानी हुने गरेका कारणले पछिल्लो समय मकैखेतीतर्फ आकर्षित भएको साहको भनाइ रहेको छ । साह सुनसरीका लागि उदाहरणका पात्र मात्र हुनुहुन्छ । पछिल्लो समय सुनसरी सदरमुकाम इनरूवासहित भोक्राहा, हरिनगर, बर्जु, गढी र देवानगञ्ज गाउँपालिकाका कृषक मकैखेतीतर्फ बढी आकर्षित भएका छन् ।

जिल्लामा पछिल्लो समय वार्षिकरूपमा गहुँखेती गर्ने कृषकको सङ्ख्या क्रमिकरूपमा घट्दै गएको छ भने मकैखेती गर्ने कृषकको सङ्ख्या बढ्दै गएको कृषि ज्ञान केन्द्र इनरूवा सुनसरीका प्रमुख निलकमल सिंहले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०८०/०८१ मा सुनसरीमा १२ हजार २ सय ४८ हेक्टर क्षेत्रफलमा गहुँखेती भएकोमा आव २०८१/०८२ मा १२ हजार एक सय २५ हेक्टर क्षेत्रफलमा किसानले गहुँखेती गरेको कार्यालय प्रमुख सिंहले जानकारी दिनुभयो ।

त्यसैगरी आव २०८०/०८१ मा सुनसरीमा १० हजार छ सय ४१ हेक्टर क्षेत्रफलमा मकैखती गरेका र यस आवमा लगाउने क्रम जारी रहेका कारणले यसमा वृद्धि हुने उहाँले जानकारी दिनुभयो । आव २०८०/०८१ मा ३ दशमलव ३७ मेट्रिक टन गहुँको उत्पादकत्व रहेकोमा सोही आर्थिक वर्षमा ७ दशमलव ८ मेट्रिक टन प्रतिहेक्टर मकैको उत्पादकत्व रहेको सिंहले जानकारी दिनुभयो ।

मकैखेतीमा उत्पादकत्व बढी हुनु, बजार भाउ बढी पाउनु र कुखुराको दाना बनाउनका लागि प्रयोग गर्नुलगायतका कारणले बढी मात्रमा जिल्लाका किसान मकैखेती गर्ने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख सिंहले जानकारी दिनुभयो । सुनसरीमा हाइब्रिड ३३, ५५, ७७, रामपुरकम्पोजीट, कारगील, अल्राउण्डरलगायतका जातका मकैखेती हुने गरेको कृषि ज्ञानकेन्द्रका प्रमुख सिंहले जानकारी दिनुभयो ।

–रासस


565
Shares

प्रतिक्रिया दिनुहोस !