रवि लामिछाने विरुद्ध आजबाट थुनछेक बहस हुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध आजदेखि थुनछेक बहस हुने भएको छ ।
सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतमा दायर मुद्दामा आजबाट थुनछेक बहस हुन लागेको हो । अदालतमा आज गोला प्रथापछि न्यायाधीशको बेन्च तय हुनेछ । बेन्चले सुनुवाइ सकिएपछि लामिछाने लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ ।
सरकारी वकिलको कार्यालय कास्कीले लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित ४४ जनालाई आइतबार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ । पाँच जनालाई बिगो अनुसारको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको छ ।
लामिछानेविरुद्ध भने तीन वटा कसुरमा मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोग पत्र दर्ता गरिएको छ ।
सहकारीको बचत रकम अपचलन गरेको आरोपमा लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।