प्रधानमन्त्री केपी ओली आज पाल्पा र बुटवलका विभिन्न कार्यक्रममा सहभागी हुने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज दिनभरि पाल्पा र बुटवल हुनुहुने भएको छ ।
प्रधानमन्त्री ओली शुक्रबार दुई जिल्लाका चारवटा औपचारिक कार्यक्रममा सहभागी हुने उहाँको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीले बिहान ११ बजे पाल्पाको बगनासकाली गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्ने कार्यक्रम रहको छ ।
त्यस्तै दिउँसो १२ बजेपछि तिनाउ गाउँपालिकाको भवन उद्घाटन गर्ने कार्यक्रम हरेको छ । तिनाउ दोभानमा नवनिर्मित प्रशासकीय भवन कार्यक्रमलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
आज दिउँसो नै प्रधानमन्त्रीले सिद्धबाबामा निर्मित सुरुङ मार्गको ब्रेकथ्रु गर्ने कार्यक्रम छ । सिद्धार्थ राजमार्गमा निर्मित सो सुरुङको निर्माणकार्य अन्तिम चरणमा पुगेपछि आज ब्रेकथ्रु गर्न लागिएको हो ।
सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डअन्तर्गत निर्माणाधीन १ हजार १ सय २६ मिटर लामो सिद्धबाबा सुरुङ राष्ट्रिय गौरवको आयोजना हो ।
सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा क्षेत्रको सडक अत्यन्त जोखिमपूर्ण मानिन्छ । सो सडकमा बारम्बार पहिरो जाँदा सडक जोखिमपूर्ण भई धेरै मानिसले ज्यान गुमाएका छन् । सडकको झण्डै चार किलोमिटर क्षेत्रलाई अति जोखिमपूर्ण मानिन्छ । सोही जोखिम टार्न सुरुङ मार्ग बनाइएको हो ।
प्रधानमन्त्रीले आज दिउसो बुटवल–गोरुसिङ्गे सडक स्तरोन्नतिको शिलान्यास गर्ने कार्यक्रम पनि रहेको छ । एसियाली विकास बैङ्कको सहयोगमा बुटवल–गोरुसिङ्गे सडक चार लेनको बन्न लागेको हो । पहिलो चरणमा ५० किलोमिटर सो सडक स्तरोन्नति भएपछि दोस्रो चरणमा गोरुसिङ्गेबाट चन्द्रौटासम्मको १९ किलोमिटर सडक निर्माण गर्ने योजना रहेको छ ।