११ फाल्गुन २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

मलाई कुनै लोभ छैन, मसँग जे छ, त्यो देश, पार्टी र राज्यको सम्पत्ति हो : प्रधानमन्त्री केपी ओली

प्रकाशित मिति :  १० फाल्गुन २०८१, शनिबार २१:१३


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’ सत्य लिखतमा आधारित पुस्तक भएको बताउनुभएको छ ।

पाणिनि बुक्सद्वारा प्रकाशित सो पुस्तक लोकार्पण कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू पनि सो पुस्तकका घटनाको एक साक्षी भएको बताउनुभयो । उक्त पुस्तक कुनै उपन्यास वा कथा नभएको र यसमा कुनै बनावटी कुराहरू नभएको उहाँले बताउनुभयो ।

आफूले राधिकाको प्रशंसा गरेको नभई सत्य बोलेको उहाँले बताउनुभयो । ‘हुन त आफ्नै श्रीमतीको प्रशंसा गर्‍यो भन्ने पर्ला तर म ढुक्कका साथ भन्न सक्छु, यो पुस्तक २४ क्यारेटको छ, यसको सत्यतामा कसैले चुनौती दिन सक्दैन’, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले आफू राधिकाकै कारण अहिलेसम्म बाँचेको बताउनुभयो । ‘मेरो हुतीले बालकोटमा हाम्रो घर बन्न सक्ने पनि थिएन, त्यो सबै राधिकाको कमाइ र मेहनत हो, त्यो घर पनि ट्रष्टका नाममा दान गरिसकिएको छ, मेरो त सानो हुँदा आफूले खनजोत गर्ने गरेको झापाको खेत पनि बाढी पहिरोले बगाइसकेको छ, राधिका नहुने हो भने म अहिलेसम्म यसरी बाँच्न सक्ने थिइनँ’, उहाँले भन्नुभयो ।

 

प्रधानमन्त्री ओलीले आफ्नो एक मानोको बन्दोबस्त मात्रै भएको बताउनुभयो । देश र जनताको अधिकारका लागि ज्यानको पर्बाह नगरी हिँडेको आफू जस्तो मान्छेका बारेमा आर्थिक विषयमा अनेक अफवाह फैलाइएको बताउँदै उहाँले मुलुकमा लोकतान्त्रिक गणतन्त्रको प्राप्तिलाई आफूले सफलता मानेको बताउनुभयो ।

अहिले पनि जनताको छोरो प्रधानमन्त्री भएको देख्न नचाहनेहरूले आफूलाई होच्याएर कुरा गर्ने गरेका ओलीले बताउनुभयो । ‘जेलबाट चप्पल लगाएर निस्किएको एउटा कैदी प्रधानमन्त्री भयो भनेर होच्याउनेहरू पनि छन्, सायद तिनीहरू श्रीपेच लगाएका मान्छेले आफूलाई रैती बनाएको देख्न चाहन्छन्, जनताको छोरो प्रधानमन्त्री भएको देख्न चाहँदैनन्’, ओलीले भन्नुभयो ।

ओलीले आफूसँग केही नभएको बताउँदै भएको पनि देश र जनताको लागि भएको बताउनुभयो । ‘मलाई धेरैले माया र साथ दिन्छन्, मैले लोभ गर्ने हो भने साथीहरूले घर सम्पत्ति जोड्न सहयोग गर्छन् तर मलाई कुनै लोभ छैन, मसँग जे छ, त्यो देश, पार्टी र राज्यको सम्पत्ति हो’, उहाँले भन्नुभयो ।

 


226
Shares

प्रतिक्रिया दिनुहोस !