१९ मंसिर २०८२, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बिना दृष्टिकोण, बिना जिम्मेवारी – स्टन्टले मात्र नेता भइदैन, बालेनजी

प्रकाशित मिति :  ७ कार्तिक २०८२, बिहीबार ०७:३४


– गोपाल ओली

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको कार्यशैली, प्रस्तुत शैली र आम जनताप्रतिको व्यवहार हेर्दा एक गम्भीर प्रश्न उठ्छ— के उनलाई साँच्चै पनि नेता भन्न मिल्छ? यदि सामाजिक सञ्जालमा स्टाटस लेख्ने, भिडमा नजाने, सार्वजनिक बहसबाट टाढिने र आलोचना सहन नसक्ने बानीलाई नेताको योग्यता मान्ने हो भने लोकतन्त्रको परिभाषा पुनर्लेखन गर्नुपर्ने अवस्था आउन सक्छ।

 फेसबुक–केन्द्रित नेतृत्व

बालेन शाहको मेयर पद सम्हाल्ने शैलीमा देखिने प्रमुख लक्षण भनेको फेसबुकमार्फत राजनीति गर्ने प्रवृत्ति हो। उनले जनतालाई प्रत्यक्ष रूपमा बुझ्ने र संवाद गर्ने प्रयत्नभन्दा बढी आफ्नो धारणा सामाजिक सञ्जालमार्फत व्यक्त गर्दै आएका छन्। मेयरजस्तो कार्यकारी पदमा बस्ने व्यक्तिले संवाद, सहकार्य र भूमिमा पुगेर समस्याको समाधान गर्नुपर्छ। तर बालेन भिडमा जाँदैनन्, जनताको प्रत्यक्ष सरोकारका कार्यक्रममा सहभागी हुँदैनन्। प्रश्न सामाजिक सञ्जालमा उठ्छ, जवाफ पनि त्यहीं आउँछ। यस्तो व्यवहारले उनी सार्वजनिक पदको जिम्मेवारीमा भन्दा पनि एक ‘इन्फ्लुएन्सर’को भूमिकामा सीमित देखिन्छन्।

 समस्यामाथि ध्यान होइन, प्रचारमुखी स्टाटसमा ध्यान

काठमाडौं महानगरपालिकाका कैयौं आधारभूत सेवा क्षेत्र—स्वास्थ्य, शिक्षा, खानेपानी, सडक, सरसफाइ जस्ता विषयमा बालेनको ध्यान केन्द्रित भएको पाइँदैन। सामुदायिक विद्यालयहरूमा लगातार तीन शैक्षिक सत्रमा पनि गुणस्तरको सुधार नभएको, अस्पताल व्यवस्थापनमा कामपाको कुनै स्पष्ट भूमिका नदेखिएको, सडक विकासमा विवादास्पद ठेक्काप्रथाको निरन्तरता—यी सबै उनले नेतृत्व गरेको २.५ वर्षको कालखण्डमा देखिएका कमजोरीहरू हुन्। तर यी कमजोरीहरूबारे कहिल्यै पनि सार्वजनिक रुपमा क्षमायाचना वा स्वीकारोक्ति नआउनु उत्तरदायित्वबाट भाग्ने मानसिकता को प्रमाण हो।

आक्रोश, धम्की र उत्तेजनाः नेताको भाषा?

कुनै समयमा सिंहदरबार जलाउने धम्की दिएर चर्चामा आएका बालेनले आफ्नो निजी घटना (कोटेश्वरमा प्रहरीले रोकेको विषय) लाई राष्ट्रिय विषयसरह सामाजिक सञ्जालमा प्रस्तुत गर्दै आक्रोशपूर्ण अभिव्यक्ति दिएका थिए। यसरी संवेदनशील राज्यसंस्थामाथि आक्रोश पोख्नु एउटा जनप्रतिनिधिको भाषा हुनसक्दैन। आन्दोलनको बेलामा नगरको गाडी, प्रहरी, स्रोत साधन दुरुपयोग गरेर आन्दोलनकारीको पक्षमा देखिएको व्यवहार पनि निष्पक्षताको सिद्धान्तसँग मेल खाँदैन।

नेतृत्व क्षमता वा प्रचारमूलक प्रयोग?

बालेनको नेतृत्वमा काठमाडौं महानगरको बजेट कार्यान्वयन दर घटेको छ। नेपालकै सबैभन्दा ठूलो आम्दानी गर्ने पालिकामा बजेट खर्च गर्न नसक्नु नेतृत्वको कमजोरी हो। एकातिर ‘भिजनसहित आएको युवा नेता’ भनेर प्रचार गरिन्छ, अर्कोतिर आफ्नो कार्यक्षेत्रमै ढिलासुस्ती, अव्यवस्था र परिणामहीनता देखिन्छ।
के नेता भन्नका लागि केवल लोकप्रियता पुग्छ? कि परिणाम पनि चाहिन्छ?

 जिम्मेवारी र आत्मालोचनाको अभाव

नेता भनेको जनताको आवाज सुन्न सक्ने, आलोचना आत्मसात गर्न सक्ने र गल्ती स्वीकार गरेर सुधार गर्न सक्ने हुनुपर्छ। तर बालेन शाह आलोचना प्रति संवेदनशील होइन, आक्रोशित देखिन्छन्। उनले न त सार्वजनिक आलोचनाप्रति गम्भीर प्रतिक्रिया दिएका छन्, न त गल्ती स्वीकार गरेका छन्। बरु, आफूले मात्र सबै जानेको भ्रममा रहँदै अरूलाई ‘पुरानो सोचका’, ‘अक्षम’ वा ‘प्रतिक्रियावादी’ ठहराउने प्रवृत्तिमा देखा परेका छन्।

 स्थानीय समस्याबाट टाढा, राष्ट्रिय राजनीतिमा होमिने लक्षण

काठमाडौंको दुर्गति भइरहँदा पनि बालेनको ध्यान देशव्यापी विषयमा केन्द्रित हुँदै गएको देखिन्छ। सामाजिक सञ्जालमा केन्द्र सरकार, न्यायपालिका, राजनीतिक दलहरूलाई लक्ष्य गर्ने बयान दिनु स्थानीय सरकार प्रमुखको आचरण होइन। काठमाडौँ चलाउन नसक्नेले देश चलाउने सपना देख्दा देशलाई भ्रममा पार्ने खतरा बढ्न सक्छ।

अन्त्यमा : बालेन शाह नेता होइनन्, नेतामा हुनुपर्ने गुण नभएका मानिस हुन् । बालेन शाहलाई नेता मान्न कुनै ठोस आधार छैन। न त उनले सार्वजनिक जिम्मेवारीमा सफलता देखाएका छन्, न त जनसम्पर्कमा आफूलाई उपस्थित गराएका छन्। उनी प्रचारमा अगाडि, कार्यमा कमजोर, प्रतिक्रिया दिन छिटो, तर परिणाम दिन ढिलो देखिन्छन्।


6.1k
Shares

प्रतिक्रिया दिनुहोस !