१२ आश्विन २०८३, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पूर्वप्रधान न्यायाधीश जबरा पक्राउ प्रकरणमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष प्रतिनिधिसभामा मौन

प्रकाशित मिति :  28 September, 2026 5:40 pm


काठमाडौँ । पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ प्रकरण सोमबार प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरूले चर्को रूपमा उठाए । तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी भने यस विषयमा मौन रहे ।

सोमबारको बैठकमा आकस्मिक र शून्य समयमा बोल्ने कांग्रेस र रास्वपाका सांसदले जबराको पक्राउ प्रकरण उठाएनन् । शनिबार राति प्रहरीले जेनजी पुस्ताबाट आक्रमण हुन सक्ने भन्दै जबरालाई आफ्नै निवासबाट पक्राउ गरेको थियो। तर, आइतबार दिउँसो नै उनलाई प्रहरीले परिवारको जिम्मा लगाएको थियो ।


यो घटनाले न्याय प्रणाली र सुरक्षा संयन्त्रको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएपछि संसदमा यसबारे प्रमुख प्रतिपक्षी दल कांग्रेसले चर्को रूपमा उठाउने अपेक्षा गरिए पनि उठाएन । कांग्रेसका तर्फबाट सोमबार आकस्मिक समयमा टेकबहादुर गुरुङ मात्रै बोलेका थिए । गुरुङले ३ दिनको लगातारको वर्षका कारण आफू निर्वाचित भएर आएको मनाङमा पुर्‍याएको जनधनको क्षतिको विषय मात्रै उठाए । शून्य समयमा कांग्रेसका तर्फबाट कुनै पनि सांसद बोलेनन् ।

सत्तारुढ दल रास्वपाका सांसदहरू आकस्मिक र शून्य समयमा बोले पनि यो विषय कसैले पनि उठाएनन् । जबरा पक्राउ प्रकरणमा प्रहरीले दिएको जेनजी सम्बन्धी तर्क र त्यसपछिको नाटकीय रिहाइबारे चौतर्फी आलोचना भइरहँदा सत्तापक्षका सांसदहरूले यस विषयमा संसदमा एक शब्द पनि खर्चिएनन्।

पूर्वपदाधिकारीहरूको गिरफ्तारी र सरकारको कार्यशैलीलाई लिएर विपक्षी दल एमालेका प्रमुख सचेतक ऐनबहादुर महर, नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल, श्रम स‌स्कृति पार्टीका सांसद ध्रुव राई र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद भरत गिरीले भने सदनमा जबरा पक्राउको चर्को आलोचना गरे । उनीहरूले जबराको पक्राउलाई राज्य आतङ्क र केटाकेटी खेलको संज्ञा दिँदै तीव्र असन्तुष्टि जनाए ।


0
Shares

प्रतिक्रिया दिनुहोस !