२८ आश्विन २०८३, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

साढे २१ किलो सुन तस्करी प्रकरण : एयरपोर्टबाटै आएको संकेत, ५ पटकसम्म गाडी पुगेको देखियो

प्रकाशित मिति :  14 October, 2026 1:46 pm


काठमाडौं । बूढनीलकण्ठबाट बरामद भएको साढे २१ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै छिरेको हुनसक्ने संकेतहरू देखा परेका छन् ।

अनुसन्धानका क्रममा चिनियाँ नागरिकले भाडामा लिएको गाडी पटक पटक विमानस्थल आउजाउ गरेको देखिएको छ । दैनिक ८ हजार रुपैयाँ तिर्नेगरी चिनियाँ नागरिकले ११ असोजदेखि २५ असोजसम्मका लागि कार भाडामा लिएका थिए । यो कार पाँच पटकसम्म विमानस्थल पुगेको देखिएको एक अनुसन्धन अधिकृतले बताए ।

‘११ दिनको अवधिमा यो कार पाँच पटकसम्म विमानस्थलको पार्किङ एरियासम्म पुगेर आएको देखिन्छ,’ ती अनुसन्धान अधिकृत भन्छन्, ‘कारको शंकास्पद गतिविधिले पनि यो सुन हवाई रुट हुँदै आएको हुनुपर्ने हाम्रो विश्लेषण छ ।’

यो कार अहिले पक्राउ परेका चिनियाँ नागरि हान फिईले भाडामा लिएका थिए । ११ असोजमा काठमाडौं ओर्लनासाथ हान फिईले रिकन्डिसन तथा रेन्टल हाउसबाट भाडामा लिएका थिए । यो कार सुन ओसार्नकै लागि भाडामा लिइएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

२२ असोजको बिहान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले छापा मार्दा पनि कारमा दुई केजीका सुनका दुई वटा बिस्कुट भेटिएका थिए । एक/एक किलोको दुई वटा बिस्कुट कागजमा र्‍याप गरेको अवस्थामा चालक सिट नजिकको बक्समा फेला परेको थियो ।

त्यसैगरी सुनसहित पक्राउ परेका तीनै चिनियाँ नागरिक पनि हवाई रूट हुँदै काठमाडौं आएका थिए । अहिले बरामद भएको सुन हवाई रूटबाट काठमाडौं भित्रिएको आशंका प्रहरीले गरेको छ । पक्राउ परेका तीनै जना चिनियाँ नागरिक पनि हङकङ हुँदै काठमाडौं आएका थिए ।

सुनसहित पक्राउ परेका चीनको जियाङ्सु ग्वाङडोङका २७ वर्षीय हान फिई, सोही ठाउँका ४७ वर्षीय चोउ लङसिन र सोही ठाउँका ३७ वर्षीय वाङ जियान्जेन अहिले हिरासतमा छन् ।

उनीहरूमध्ये २ जना ११ असोजमा र १ जना १५ असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको अध्यागमनको रेकर्डमा देखिन्छ ।

काठमाडौं ओर्लिएपछि उनीहरू पटक–पटक एअरपोर्ट गएको पनि भेटिएको प्रहरीले स्रोतले बतायो । काठमाडौंमा रहँदा पनि विमानस्थलमा ओहोर–दोहार भइरहेको, पाँच पटकसम्म भाडामा लिएको कार विमानस्थल पुगेको र उनीहरू हवाई रुट हुँदै काठमाडौं भित्रिएकाले बरामद सुन पनि हवाई रुटबाटै काठमाडौं भित्रिएको प्रहरीको विश्लेषण छ ।

लेसिलो आकार बनाएर सुन लयाउँदा सहज हुने, लुकाउन मिलने भएकाले उनीहरूले उक्त स्वरूपमा हवाई रुटबाटै सुन ल्याएको हुनसक्ने प्रहरीले विश्लेषण गरेको छ । ‘अहिलेसम्मको अनुसन्धानले एयरपोर्टबाटै सुन छिरेको हाम्रो बुझाइ छ । यद्यपी यसलाई थप पुष्टि गर्ने काम भइरहेको छ,’ एक अनुसन्धान अधिकृत भन्छन् ।

यो चिनियाँ समूहले ल्याएको २१ किलो ७५०.६८ ग्राम सुन बरामद भएको छ । बरामद भएको दिनको बजार मूल्यअनुसार उक्त सुनको मूल्य ५४ करोड ६० लाख, ७ हजार ३२० रुपैयाँ हुन आउँछ ।

बुढानिलकण्ठको माथिल्लो भंगालस्थित एक घरमा छापा मार्दा उक्त सुन बरामद भएको हो । मासिक तीन लाख ३० हजार भाडाका दरले साढे दुई तले घर चिनियाँले भाडामा लिएका थिए । अग्रिम भुक्तानीमार्फत चार महिनाको भाडामा समेत दिइसकेको पाइएको छ ।

अहिले सुन तस्करीको थप विमानस्थलस्थित भन्सार कार्यालयले पनि गरिरहेको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !