३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राष्ट्रपति भण्डारीद्वारा नयाँ सरकार गठनका लागि आह्वान

प्रकाशित मिति :  ६ जेष्ठ २०७८, बिहीबार १५:५८


.

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएकाे छ ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ काे उपधारा (५) बमाेजिम नयाँ सरकार गठन गर्न आह्वान गर्नुभएकाे राष्ट्रपति कार्यालयले बिहीबार राति विज्ञप्ति निकालेर जानकारी दिएकाे हाे ।

भोलि जेठ ७ गते साँझ ५ बजेसम्म विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न दलहरुलाई समय दिइएकाे विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नदिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताउनु भएलगतै राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएकाे हाे ।

उपधारा ५ मा प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ ।

विपक्षी गठबन्धनले भोलि साँझ ५ बजेसम्म दुई वा दुई बढी दलको वहुमत पेस गर्नुपर्ने हुन्छ । यसअघि विपक्षी गठबन्धनले बहुमत पेस गर्न सकेका थिएनन् । विश्वासकाे मत नपाएपनि प्रतिनिधि सभाकाे सबैभन्दा ठूलाे दलकाे संसदीय दलकाे नेताकाे रुपमा केपी शर्मा ओली नै प्रधानमन्त्री हुनुभएकाे थियाे ।

राष्ट्रपतिले दिनुभएकाे समयसीमाभित्र विपक्षी गठबन्धन बहुमतको आधार प्रस्तुत गर्न नसके प्रतिनिधि सभा संवैधानिक रुपमै भंग हुनेछ  ।  ओलीकै नेतृत्वमा चुनावी सरकार बन्नेछ र साे सरकारले चुनावकाे घोषणा गर्नेछ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !