२८ पुष २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

सुदूरपश्चिममा ५५ प्रतिशत सङ्क्रमित निको

प्रकाशित मिति :  ९ जेष्ठ २०७८, आईतवार ०९:२०


कैलाली । कोरोना भाइरसको महामारी फैलिएसँगै सुदूरपश्चिम प्रदेशमा सङ्क्रमित हुनेमध्ये अहिलेसम्म झण्डै ५५ प्रतिशत बिरामी उपचार व्यवस्थापनपछि घर फर्किएका छन् ।

स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कअनुसार हालसम्म पीसीआर र एन्टिजेन पद्धतिबाट गरिएको नमूना परीक्षणमा सङ्क्रमित पुष्टि भएका ४० हजार पाँच सय ७३ मध्ये २२ हजार दुई सय ५० उपचार व्यवस्थापनपछि घर फर्किएका हुन् ।

सङ्क्रमित हुनेमध्ये अहिलेसम्म भण्डै एक प्रतिशत अर्थात् चार सय २८ जनाको निधन भएको छ । जटिल अवस्थाका सङ्क्रमितको अस्पतालमा उपचार व्यवस्थापन भइरहेको छ । सङ्क्रमण भएर पनि अवस्था सामान्य भएका अन्य सङ्क्रमित संस्थागत आइसोलेशन र होम आइसोलेशनमा नै बसेर उपचाररत छन् ।

कोरोना भाइरसजस्तो लक्षण भएका तर नमूना परीक्षण नगराएका पनि होम आइसोलेशनको एकान्तवासमा छन् । गत वर्षको कोरोना महामारीमा पीसीआर विधिबाट मात्र लक्षण देखिएका व्यक्तिको नमूना परीक्षण गर्ने गरिएकामा यस वर्ष पीसीआरका साथै एन्टिजेन विधिबाट समेत नमूना परीक्षण भइरहेको छ । अहिलेसम्म पीसीआरतर्फ एक लाख ७१ हजार सात सय ६३ को नमूना परीक्षण भएकामा ३५ हजार एक सय १९ मा सङ्क्रमण भएको छ ।

एन्टिजेन परीक्षण पद्धतिबाट हालसम्म ३७ हजार चार सय ६५ को नमूना परीक्षण गरिएकामा पाँच हजार चार सय ५४ जनामा सङ्क्रमण भएको पाइएको छ । कोरोनाको दोस्रो लहर फैलिएसँगै सङ्क्रमण र मृत्यु हुने दर ह्वात्तै बढेको छ । प्रदेशका कैलाली र कञ्चनपुर सबैभन्दा बढी प्रभावित छन् ।

तथ्याङ्क विश्लेषण गर्दा एन्टिजेन पद्धतिबाट गरिएको नमूना परीक्षणमा सङ्क्रमित फेला पर्नेमध्ये तीन दशमलब ५५ प्रतिशत अर्थात् १९४ जनाको निधन भएको छ भने पिसिआर पद्धतिबाट गरिएको परीक्षणमा सङ्क्रमित फेला पर्नेमध्ये शून्य दशमलब ६६ प्रतिशत अर्थात् दुई सय ३४ को निधन भएको छ ।

प्रदेशको कूल जनसङ्ख्या २५ लाख ५२ हजार पाँच सय१७ को अहिलेसम्म भण्डै आठ प्रतिशत अर्थात् दुई लाख नौ हजार दुई सय २८ जनसङ्ख्याको मात्र कोरोना भाइरसको नमूना परीक्षण हुन सकेको छ । एन्टिजेन परीक्षण गएको वैशाखदेखि मात्र सुरु गरिएको थियो ।

प्रदेशभरिका विभिन्न १२ अस्पताल तथा स्वास्थ्य संस्थामा उपचार व्यवस्थापन भइरहेका बिरामीमध्ये पछिल्लो २४ घण्टामा जटिल अवस्थाका ४२ को सघन उपचार कक्षमा र १२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रदेशको एक मात्र ‘रेफरल’ अस्पतालका रुपमा रहेको सेती प्रदेशिक अस्पताल धनगढीको तथ्याङ्कका अनुसार कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि शनिबारसम्म आठ सय १५ जना अर्थात् झण्डै ८६ प्रतिशत सङ्क्रमित उपचार व्यवस्थापनपछि घर फर्किनुभएको छ ।

दोस्रो लहर फैलिएपछि सो अस्पतालमा नाै सय ४३ सङ्क्रमित भर्ना भएका छन् । कोरोना फैलिएपछि हालसम्म उपचार व्यवस्थापनका क्रममा एक सय ४५ को निधन भएको छ । निधन हुने यो दर झण्डै १५ प्रतिशत हो । अस्पतालमा शनिबार एक सय तीन जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा नौजना भर्ना हुँदा दशजना उपचारपछि घर फर्किनुभएको छ । सघन उपचार कक्ष (आइसियु)मा १६ जना उपचाररत छन् ।

अस्पतालको पिसिआर प्रयोगशालामा सङ्कलित स्वाबको नमूना परीक्षण गर्दा हालसम्म १६ हजार २२१ को नतिजा ‘पोजेटिभ’ आएको अस्पतालले उपलब्ध गराएको तथ्याङ्कमा छ । अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जटिल अवस्थाका कतिपय बिरामी उपचारका लागि ढिलो गरी अस्पताल आउने गर्दा यस्ता बिरामीको ज्यान जोगाउन मुस्किल भइरहेको बताउनुभयो ।

‘उपचार व्यवस्थापनका लागि अस्पताल पुग्न जति ढिलो गरियो, त्यति मृत्युवरण हुने जोखिम छ’, उहाँले भन्नुभयो, ‘अस्पतालमा दोस्रो लहर फैलिएको शुरुको अवस्थामा अक्सिजनको अभाव हुँदा उपचार व्यवस्थापनमा देखिएको समस्या पछिल्लो हप्तादेखि अक्सिजन कन्सन्ट्रेटरको जडानसँगै हटेको छ ।’

सेती प्रादेशिक अस्पतालमा भर्ना भएकामध्ये हालसम्म २८ जना सङ्क्रमित थप उपचारका लागि अन्यत्र सिफारिस गरिएका छन् । गत वर्ष कोरोनाको पहिलो लहर फैलिँदा कतिपय सङ्क्रमितलाई थप उपचारका लागि नेपालगञ्ज लैजाने गरिएको थियो । दोस्रो लहरपछि भने धेरै बिरामीलाई काठमाडौँ वा चितवन पु¥याउने गरिएको छ । यस्ता बिरामीको स्वास्थ्यमा सुधार भए/नभएको तथ्याङ्क भने अस्तालसँग छैन ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !