२८ पुष २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

अक्सिजन सिलिण्डर जुटाऔँ, जीवन बचाऔँ- शान्ति समाज

प्रकाशित मिति :  ११ जेष्ठ २०७८, मंगलवार १०:३२


काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना भाइरस (कोभिड–१९) संकटका कारण निषेधाज्ञा जारी रहेको अवस्थामा मानवअधिकार तथा शान्ति समाजले ‘अक्सिजन सिलिण्डर जुटाऔँ, जीवन बचाऔँ’ अभियान सुरु गरेको छ ।

समाजले अक्सिजन भरिएका १० थान ठूला सिलिन्डर संकलन गरी सभापति गोविन्द खनाललगायत पदाधिकारीले लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको छ । उक्त सिलिन्डर मन्त्रालयमार्फत् अत्यावश्यक बिरामीका लागि कोभिड अस्पतालमा वितरण हुनेछ ।

समाजले वर्तमान संकटपूर्ण अवस्थामा सेवामुखी कार्यलाई निरन्तरता दिइरहेको छ । यस क्रममा जेठ ५ गते पशुपति क्षेत्रका बाँदरका लागि मनपर्ने भिजेको चना र पाउरोटीसहित सामग्री वितरण गरेको थियो । जेठ ४ गते असहाय गाईबाछा संरक्षण अभियानलाई समाजले १६ हजार रुपैयाँ बराबरको खाद्य सामग्री प्रदान गरेको छ ।

यसैगरी जेठ ३ गते गुहेश्वरी मन्दिर अगाडि रहेका सहयोगापेक्षीलाई पाउरोटी वितरण गरिएको थियो । जेठ २ गते काठमाडौं साँखुस्थित द्वन्द्व पीडित तथा अपांग समाजलाई २३ हजार रुपैयाँको खाद्य सामग्री सहयोग प्रदान गरिएको थियो । सहयोग प्रदान कार्यक्रममा समाजका सल्लाहकार उत्तम पुडासैनी, काठमाडौं शाखा सदस्य विकास थापा, भगवान पुडासैनीसहित सहभागिता थियो ।

यस्तै ०७८ जेठ एक गते समाजले जोरपाटी चोकमा मास्क, स्यानीटाइजर वितरण गरेको थियो भने शान्ति समाज सिरहा शाखाले पनि सुरक्षाकर्मीलाई मास्क उपलब्ध गराएको थियो । काठमाडौंमा सम्पन्न सप्ताहव्यापी कार्यक्रमको संयोजन शान्ति समाजका महासचिव रामकृष्ण बरालले गर्नुभएको थियो ।

यसै क्रममा अक्सिजन प्लान्ट शीघ्र स्थापनार्थ ध्यानाकर्षण गराउँदै जेठ ४ गते शान्ति समाजको प्रतिनिधिमण्डलले गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख सन्तोष चालिसेसँग छलफल गरेको थियो । बुटवलस्थित स्वास्थ्य प्रतिष्ठानका चिकित्सकसँग कोभिडसँग सम्बन्धित विषयमा छलफल गरिएको समाजले जनाएको छ ।

महामारीको यो समयमा अक्सिजनको खोजी र अन्य मानवीय सेवामा लागि रहने समाजको प्रतिबद्धता छ ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !