२८ पुष २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

यार्सा संकलनमा रोक

प्रकाशित मिति :  ११ जेष्ठ २०७८, मंगलवार १०:३५


रुकुमपूर्व । जिल्ला प्रशासन कार्यालय रुकुम (पूर्व)ले यस वर्ष यार्सा संकलनमा रोक लगाउन निर्देशन दिएको छ । कोरोना संक्रमण फैलिरहेकाले यस बेलामा यार्सा संकलन खुला गर्दा संक्रमणको जोखिम झन उच्च हुने भएपछि रोक लगाउन जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको हो ।

रुकुम (पूर्व)सहित यार्सा पाईने छिमेकी जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जुम मिटिङबाट यस वर्ष पनि यार्सा संकलनमा रोक लगाउने सहमति भएको यस जिल्लाका प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिनुभयो । कोरोना महामारी फैलिरहेको यो अवस्थामा एउटा जिल्लाले मात्र रोक लगाएर नहुँने भन्दै यार्सा पाइने छिमेकी जिल्लामा पनि रोक लगाउने सहमति भएको उहाँले बताउनुभयो ।

कोरोना महामारीकै कारण गत वर्ष पनि यार्सा संकलनमा रोक लगाइएको थियो । कोरोनाबाट बच्न भन्दै यार्सा संकलनमा रोक लगाइरहँदा यसबाट जिविकोपार्जन गर्दै आएकाको भने रोजिरोेटि खोसिएको छ । रुकुम (पूर्व) को पुथाउत्तरगंगा गाउँपालिका–१ र २ नम्बर वडाका बुकी पाटनमा यार्सा पाइँने गर्दछ । प्रत्येक वर्षको जेठको दोस्रो हप्ताबाट सुरु भएर असारको दोस्रो हप्तासम्म चल्ने गरेको यार्सा सिजन गत वर्ष र यस वर्ष भने ठप्पै छ ।

डिभिजन वन कार्यालय रुकुम (पूर्व)ले भने रोक लगाउनुभन्दा अगाडि नै केही परिमाण यार्सा संकलनको पुर्जी दिइसकेको छ । दुई साता अगाडि नै सात किलोको संकलन पुर्जी दिएको वन कार्यालयका सहायक वन अधिकृत सूर्य मैनालीले जानकारी दिनुभयो । त्यो भन्दा पछाडि कसैलाई पनि यार्सा संकलन पुर्जी नदिएको मैनालीले बताउनुभयो ।

गत वर्ष र यस वर्ष यार्सा संकलनमा रोक लगाउँदा विशेष गरी पुथाउत्तरगंगा गाउँपालिकाका स्थानीयवासी समस्यामा परेका छन् ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !