१ माघ २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

बस्ती पहिराका जोखिममा

प्रकाशित मिति :  २९ जेष्ठ २०७८, शनिबार ०८:४४


स्याङ्जा । गल्याङ नगरपालिका—३ लल्याङमा रहेको बस्ती पहिराका जोखिममा परेको छ ।

भार्लेको ठूलो पहिराको नामले चिनिने सो पहिराका कारण वर्षायामको सुरुआत भएसँगै यस क्षेत्रमा वसोवास गर्दै आएका स्थानीय बासिन्दा त्रसित बनेका हुन् । करीब एक सय घरधुरी रहेको सो क्षेत्रमा पहिरो बस्ती नजिक पुगेपछि स्थानीय बासिन्दामा त्रास छाएको हो ।

पहिरो गएको डाँडाको माथि समथर भूभाग र उब्जाउपूर्ण जमीनका साथै आँधीखोलाको पानीले सिँचाइको समेत सुविधा भएकाले स्थानीय बासिन्दाले मौसमअनुसारको खेती लगाएर हराभरा बनाएका छन् । यहाँको जमीन धसिदै पहिरो बस्ती नजिकै आएकाले अहिले गाउँले समस्यामा परेका हुन् । स्थानीय युुवा छविलाल भट्टराईले पहिरालाई बेलैमा नियन्त्रण गर्न नसके जोखिमपूर्ण अवस्था आउन सक्ने बताउनुभयो ।

विभिन्न समयमा पहिरो रोकथाम र संरक्षणका लागि कार्यक्रमहरु सञ्चालन भएता पनि त्यसले सार्थकता पाउन नसकेको स्थानीय बासिन्दा बताउँछन् । बस्तीको दुवैतिरबाट खोलाले घेरेको र सो क्षेत्रको भूवनोट कमजोर रहेकाले बस्तीभन्दा धेरै तलबाट वरिपरिको पूरै जमीन धस्केको र ठाउँठाउँमा पहिरो निरन्तर गएकाले बस्ती थप जोखिममा परेको हो ।

पहिराका कारण बस्तीको वरिपरि रहेका खेतहरुमा समेत ठूलाठूला धाँजा फाटेको स्थानीय नेत्रप्रसाद अर्यालले बताउनुभयो । सो क्षेत्रको जमीन अत्यन्त कमजोर माटाले  बनेको र यस क्षेत्रमा चलायमान माटो रहेकाले वस्तीका साथै आँधीखोला जलविद्युत् गृहमा समेत असर पर्ने देखिन्छ ।

—रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !