ट्यांकर चालकलाई खोपको व्यवस्था गर्न माग
काठमाडौं । कोरोन संक्रमण विरुद्धको खोपको व्यवस्था मिलाउन नेपाल पेट्रोलियम ट्यांकर चालक संघले सरकारसँग माग गरेको छ ।
खोपको सुनिश्चितता नभएसम्म पेट्रोलियम पदार्थको ढुवानी नगर्ने संघले जनाएको छ । संघले आज नेपाल आयल निगमलाई पत्र पठाउँदै खोपको व्यवस्था नभएसम्म अतिआवश्यक सेवाभित्र राखिएको पेट्रोलियम पदार्थको ढुवानी रोक्ने जनाएको हो ।
संघले दोस्रो लहरको संक्रमणका कारण ट्यांकर चालक, सहचालक तथा पम्पका कर्मचारी तथा तिनका परिवारका सदस्यको निधन समेत भएको जनाउँदै थप जोखिम मोलेर पेट्रोलियम पदार्थकोे ढुवानी नगर्ने बताएका हुन् ।
संघका अध्यक्ष ईश्वर लामाले नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेललाई पत्र पठाउँदै थप सेवा प्रवाह गर्न असमर्थ रहेको भन्दै खोपको विशेष व्यवस्था गरी कार्यसञ्चालन गराउन आग्रह गर्नुभएको छ ।
संघले दोस्रो लहरको कोरोना भाइरस संक्रमितको संख्यामा वृद्धि भएको जनाउँदै संघले निगम र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा खोपको माग गरेको थियो । तीन पटकसम्म खोपको माग गर्दै पत्र पठाउँदासमेत बेवास्ता भएको भन्दै सङ्घले खोपको व्यवस्था नभएसम्म ढुवानी नगर्ने जनाएको हो ।
यसअघि, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएशनले पेट्रोलियम व्यवसायी र कर्मचारीलाई खोपको व्यवस्थापन गरिदिन सरकारसँग आग्रह गरेको थियो ।
संघले अत्यावश्यक सेवालाई पुनः सञ्चालन गर्न अग्रपङ्क्तिमा रही कार्य गर्ने पेट्रोलियम व्यवसायीले खोप नपाएको जनाउँदै उपलब्ध गराउन आग्रह गरेको हो ।
–रासस