२९ कार्तिक २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

महाकाली नदीको सतह बढ्यो

प्रकाशित मिति :  ४ असार २०७८, शुक्रबार ०६:२९


दार्चुला । लगातारको वर्षाका कारण महाकाली नदीको सतह बढ्दै गएको छ । महाकालीमा पानीको सतह बढेसँगै जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले सजकता अपनाउन सबैमा आग्रह गरेको छ ।

आज बिहान महाकाली नदीको बहाव पाँच मिटर ८० सेन्टिमिटर पुगेको छ । प्रहरी चौकी दत्तुका अनुसार छ मिटर नाघ्यो भने खतरा हुन्छ । नदीमा ढुङ्गा तथा ठूला काठ बगिरहेका छन् ।

नदी बढेर सदरमुकाम खलङ्गाको बङ्गाबगड क्षेत्रमा तटबन्ध माथि चढेको छ । पत्रकार भोजराज जोशीका अनुसार निर्माणाधीन तटबन्धभन्दा माथि महाकाली पुगेको छ । अहिले नदीले पुरानै स्वरुप लिएको छ । नदीमा पानीको बहाव बढ्दा आसपासका क्षेत्रमा जोखिम बढेको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताउनुभयोे । नदी तटीय क्षेत्र तथा जिल्लाका अन्य नदी तथा खोलामा बाढी आउन सक्ने सम्भावना रहेकाले जिल्लावासीमा सावधानी र सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

गत जेठ २८ गते मनसुन भित्रिएसँगै देशभर लगातारजसो पानी परिरहेको छ । यो हप्ता मनसुन सक्रिय भई देशभर पानी पर्ने हुँदा बाढी र पहिराको जोखिम रहेकाले सचेत रहन प्रशासनले आग्रह गरेको हो । विसं २०७० को महाकाली बाढीपछि तटबन्ध निर्माण भएका कारण अहिलेसम्म सदरमुकाम सुरक्षित रहेको भए पनि सदरमुकामभन्दा माथिल्लो क्षेत्र र दक्षिण क्षेत्रका बस्ती अहिले पनि जोखिममा छन् ।

-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !